सोमबार, असोज २६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल लाइफको 'स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन' कार्यक्रम सम्पन्न

नेपाल लाइफको 'स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन' कार्यक्रम सम्पन्न

 |  सोमबार, माघ २७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ २७, २०७६

काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौंमा ‘स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन प्रोग्राम’ सम्पन्न गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए।

आफ्ना अभिकर्ताहरुको क्षमता अभिबृद्धि गर्ने तथा उत्प्रेरणा जगाउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ। उक्त कार्यक्रममा १ हजार ५ सय भन्दा बढि सक्रिय अभिकर्ताहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा सीईओ झाले नेपाल लाइफ इन्स्योरेन्सको ब्रान्ड एम्बेस्डर भनेकै देशका कुनाकुनामा पुगेर जीवन बीमाका बारेमा सचेतना फैलाउने सम्पूर्ण अभिकर्ता भएको बताए। कम्पनीले सक्रिय अभिकर्ताहरु अझ बढाएर चालू आवमा दोब्बर गर्ने लक्ष्य राखेको सीईओ झाले बताए। बीमाबाटै देशको समृद्धि, नागरिकको भविष्यमा आइपर्ने जोखिम न्यूनीकरण र अभिकर्ताको पनि भविष्य निर्माण गर्न सकिने उनको भनाइ छ।

सीईओ झाले बीमा गराउनुभन्दा पहिले बीमा गर्ने व्यक्तिको आर्थिक स्थिति बुझेर, जीवन बीमाको आवश्यकता महसुस गराएर मात्र बीमा गराउन सुझाव दिए। उनले सस्तो लोकप्रियताभन्दा गुणस्तरीय सेवा प्रवाह तथा दीर्घकालिन लाभमा नेपाल लाइफले ध्यान दिने बताए।

कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले स्वागत मन्तव्य राख्दै कम्पनीलाई यो अवस्थासम्म ल्याइपुर्‍याउने श्रेय सम्पूर्ण अभिकर्ताहरुको रहेको बताउँदै सम्पूर्ण अभिकर्ताहरुलाई धन्यवाद व्यक्त गरे।

पेशागत बीमा अभिकर्ता संघ केन्द्रीय समितिका अध्यक्ष नन्दप्रसाद तिवारीले अभिकर्ताहरु र कम्पनी दुवै पक्षको सहकार्यले नै कम्पनीले यो सफलता हात पारेको दाबी गरे।

कार्यक्रममा सगरमाथाको आरोहण गर्ने पहिलो नेपाली फोटो पत्रकार पूर्णिमा श्रेष्ठलाई सम्मान गरिएको थियो। सो कार्यक्रममा मोटिभेटर बालकृष्ण शर्माले प्रशिक्षण दिएका थिए।

जीवन बीमा कम्पनीहरूमध्ये करिब एक तिहाई बजारहिस्सा ओगटेको यस कम्पनीको चुक्तापूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक ५ अर्ब ५० करोड रहेको छ भने लगानी ८२ अर्ब ५९ करोड रुपैयाँ रहेको छ। त्यस्तै, कम्पनीको जीवन बीमा कोष ७२ अर्ब ३३ करोड रुपैयाँ र शेयरधनी कोष ८ अर्ब ५७ करोडभन्दा बढी रहेको छ। कम्पनीले यस आर्थिक वर्षको मध्य सम्ममा जम्माद १४ अर्ब ७ करोड बीमा शुल्क संकलन गरेको छ। १ लाख ४७ हजार ४२ प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राही तथा ग्राहकहरूका लागि हालसम्म देशभर फैलिएका दुई सय शाखा तथा उपशाखा कार्यालयहरुमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । हालसम्म स्वदेश र विदेश गरी २७ लाख २ हजार ३ सय व्यक्ति यस कम्पनीमा बीमित भइसकेका छन्।

प्रकाशित: Feb 10, 2020| 17:40 सोमबार, माघ २७, २०७६
प्रतिक्रिया दिनुहोस्