काठमाडौं– विगत २५ वर्षदेखि बैंकिङ्ग कारोवार गरिरहेको नेपाल राष्ट्र बैंकबाट “क” वर्गको बैंकिङ्ग कारोबार गर्न इजाजतपत्र प्राप्त एनएमबि बैंक लि. ले विगत १० वर्षदेखि बैंकिङ्ग कारोवार गर्दै आइरहेको महेन्द्रनगर स्थित मुख्य कार्यालय रहेको नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको बैंकिङ्ग कारोबार गर्न इजाजतपत्र प्राप्त कञ्चन डेभलपमेन्ट बैंक लि. लाई प्राप्ति गर्ने भएको छ ।
यससम्बन्धी सम्झौतापत्रमा आइतबार दुवै बैंकका अधिकारीहरुबीच हस्ताक्षर भएको छ । कञ्चन डेभलपमेन्ट बैंकको प्राप्तिले राष्ट्रको प्रादेशिक संरचनामा एनएमबि बैंकको सन्तुलित वित्तीय पहँुचको मार्गचित्र कोर्न नयाँ आयाम थपिएको बैंकको भनाइ छ ।
एनएमबि बैंक लि. नेपालको बैंकिङ्ग क्षेत्रमा सफल बैंकको रुपमा पहिचान बनाएको तथा लगातार दुई पटक बैंक अफ दि ईयरले सम्मानित भई ग्राहकहरुलाई प्रभावकारी सेवा दिँदै आएको “क” वर्गको बैंक हो भने कञ्चन डेभलपमेन्ट बैंक हालसम्म सक्षम संस्थाको रुपमा सुदूरपश्चिमका सर्वसाधारणहरुलाई प्रभावकारी सेवा प्रदान गर्दै आएको राष्ट्रिय स्तरको “ख” वर्गको बैंक हो ।
कञ्चन डेभलपमेन्ट बैंक कैलाली, कञ्चनपुर, डंडेलधुरा, बैतडी र डोटी गरी ५ वटा जिल्लामा कार्यक्षेत्र रहेको बैंक हो । यस बैंकको १७ वटा शाखा कार्यालयहरु तथा ३ वटा एक्सटेन्सन काउन्टरहरु संचालनमा छन् ।
एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंक लि. लाई प्राप्ति गरे पश्चात यस बैंकको सुदूरपश्चिमका प्रदेशमा शाखा संख्या २४ पुग्नेछ भने एक्सटेन्सन काउन्टरको संख्या ४ पुग्नेछ ।