जनकपुरधाम - जनकपुरस्थित गुठी र मन्दिरको अतिक्रमित जग्गा खाली गराउन यहाँका सर्वसाधारणले माग गरेका छन्। गुठी र मन्दिरको जग्गा अतिक्रमण गरी व्यक्तिगत घरहरु निर्माण हुनथालेपछि जनकपुरको सांस्कृतिक र धार्मिक साख नै संकटमा परेको भन्दै उनीहरुले यस्तो माग गरेका हुन्।
अतिक्रमित जग्गाको सन्दर्भमा सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले बिहीबार जनकपुरमा गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरुले सरोकारवाला निकायकै सक्रियतामा मठमन्दिर र गुठीको जग्गा अतिक्रमण हुने गरेको दाबी गरे।
गुठी र मन्दिरको सयौं बिघा जग्गा सम्बन्धित कार्यालयहरुकै मिलोमतोमा अतिक्रमण भइरहेको नेपाली कांग्रेसका नेता प्रफुल्लराज घिमिरेले बताए। घिमिरेले धार्मिक महत्वको जग्गाहरु अतिक्रमण हुनुमा सबैभन्दा ठूलो दोषी भूमिसुधार, मालपोत, नापी, गुठीजस्ता सरोकारवाला कार्यालयहरु रहेको बताए। ‘मन्दिर र गुठीको जग्गा व्यक्तिको नाममा नामसारी भएको छ, मालपोत, नापीजस्ता कार्यालयले कसरी यसो गरेको छ?’ घिमिरेले प्रश्न गरे। ऐन र कानुन छँदा पनि फितलो कार्यान्वयनले मन्दिर र गुठीको जग्गाहरु व्यक्तिको नाममा भएको उनले बताए।
परिवर्तनका लागि युवा नामक संस्थाका अध्यक्ष सुशील कर्णले मन्दिर र गुठीको जग्गाहरु अतिक्रमण गरी ठूला भवनहरु निर्माण हुनथालेपछि आफूलाई जनकपुरवासी भन्नै लाज लाग्न थालेको बताए। पछिल्लो पटक सडक विस्तारको क्रममा जानकी मन्दिरको जग्गासमेत अतिक्रमण हुनु लज्जास्पद रहेको उनको भनाइ थियो। मठ मन्दिरको जग्गा अतिक्रमण गरेर हुने विकास आफूहरुलाई मान्य नरहेको कर्णले बताए। गुठी तथा मठमन्दिरका अतिक्रमण गरिएका जग्गाहरु तत्काल खाली गराउन सरोकारवालाले गम्भीरता देखाउनुपर्ने उनले उल्लेख गरे।
सरोज मिश्रले मठमन्दिरको जग्गा अतिक्रमण भएको हो वा गर्न लगाइएको हो प्रष्ट पार्न माग गरे। ‘गुठीको जग्गामा ठूलाठूला भवनहरु निर्माण भएको छ, एक दिनमा पक्कैपनि भवन निर्माण भएको होइन,’ उनले भने, ‘महिनौं लगाएर भवनहरु निर्माण हुँदासमेत गुठी संस्थान किन मौन छ? त्यस्ता जग्गाहरु तत्काल अतिक्रमणमुक्त हुनुपर्दछ।
स्थानीय महाशंकर ठाकुरले विभिन्न सरोकारवाला निकायहरुको मिलेमतोमा गुठी र मन्दिरको जग्गाहरु अतिक्रमण हुन पुगेको बताए। कानुन र ऐनअनुसार राज्यले चासो दिएर तत्काल अतिक्रमणमा परेका मन्दिर र गुठीका जग्गाहरु खाली गराउनुपर्ने उनले बताए।
अतिक्रमण भएका जग्गाहरु खाली गराउन आवाज उठिहरेका बेला कतिपयले भने विभिन्न मन्दिरका महन्तलाई पैसा दिएर जग्गा खरिद गरेको भन्दै खाली गराउन नहुने मागसमेत गरेका छन्।
स्थानीय विजय साहले आफूले जनकपुरस्थित रत्नसागर मन्दिरका तत्कालीन महन्त वैकुण्ठ दासलाई पैसा दिएर जग्गा खरिद गरेको भन्दै त्यहाँबाट नहटाउन माग गरे। प्रति धुर दुई लाखको दरले महन्त दासबाट आफूहरुले जग्गा खरिद गरेको उनको भनाइ थियो।
गुठी संस्थान जनकपुरका प्रमुख बैकुण्ठप्रसाद रेग्मीले पनि मठमन्दिरका जग्गाहरु अतिक्रमण भएकोमा कुनै शंका नरहेको बताए। विभिन्न व्यक्तिहरुबाट गुठी र मठमन्दिर अधिनस्त जग्गाहरु अतिक्रमण भएको उनले बताए। अतिक्रमणमा परेकामध्ये पोखरीको डिल, फूलबारी, बगैचा कुनै पनि हालतमा नछोडिने उनले बताए। ‘गुठी र मन्दिरका सयौं बिघा जग्गा अतिक्रमण भएको हामीले पाएका छौं,’ उनले भने, ‘अतिक्रमण भएकामध्ये पोखरी, पोखरीको डिल, फूलबारी र बगैंचा कुनै हालतमा छोडिन्न, खाली गराइन्छ।’ धार्मिक र सांस्कृतिक महत्वका लागि पनि त्यस्ता अतिक्रमित जग्गा खाली गराउनुको विकल्प नरहेको उनको भनाइ छ।