बिहीबार, चैत १२, २०८२

‘दृश्य हेर्दै र अडियो सुन्दै पढ्दा समय बितेको पत्तै हुँदैन’

एलईडीको पर्दामा शिक्षक र विद्यार्थीको दृश्य एकअर्काले देख्न सक्छन्। आमनेसामने भए जसरी नै कुराकानी गर्छन्।
 |  बिहीबार, माघ २३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २३, २०७६

म्याग्दी– कक्षा कोठामा ७२ इन्चको एलईडी मनिटर राखिएको छ। छेउमा वेब क्यामेरा जडान गरिएको छ।

National life

विद्यार्थीलाई सोही मनिटरमा दक्षिण कोरियाबाट एक शिक्षकले अध्यापन गराउँछन्। एलईडीको पर्दामा शिक्षक र विद्यार्थीको दृश्य एकअर्काले देख्न सक्छन्। आमनेसामने भए जसरी नै कुराकानी गर्छन्।

यो सहरको कुनै निजी विद्यालयको कक्षाकाेठा होइन, यो त म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा अवस्थित सर्वोदय माविको कक्षा कोठा हो।

विद्यालयले आधुनिक प्रविधिको प्रयोग गरेर पठनपाठन सुरु गरेको छ। अहिले ई शिक्षा (टेलिटिचिङ) प्रविधिबाट कक्षा ११ र १२ का विद्यार्थीलाई सोमबार र मंगलबार एकएक घण्टा दक्षिण कोरियाबाट प्रकाश धमलाले पढाउन थालेका छन्।

अध्ययनका लागि त्यहाँ पुगेका उनले भाषा र संस्कृतिबारे विद्यार्थीलाई सिकाउने बताइएको छ। टेलिटिचिङ कक्षा सञ्चालन गर्न दक्षिण कोरियाको टेलिकमले विद्यालयको एउटा कोठामा अत्याधुनिक प्रयोगशाला बनाइदिएको छ।

Laxmi sunrise bank
kumari

इन्टरनेट जडान गरेपछि वेब क्यामेराको माध्यमबाट सिकाउने गरेको कम्प्युटर शिक्षक टकबहादुर पुनले जानकारी दिए।

‘टेलिटिचिङ गराउन पाँच एमबीपीएस क्षमताको इन्टरनेट जोडेका छौंं’, उनले भने, ‘वेब क्यामेरा र इन्टरनेटबाट फरकफरक ठाउँमा भएका शिक्षक र विद्यार्थीले साक्षात्कार गरेर पढ्छन् ।’

कक्षा ११ का २२ र १२ का १९ विद्यार्थी टेलिटिचिङमा सहभागी भएका छन्।

भौगोलिक हिसाबले धेरै टाढा भएका शिक्षकले पनि गाउँमा रहेका विद्यालयमा पढाउँदा दंग परेको विद्यार्थी सनम सुनारले बताए। छात्रा सन्ध्या श्रेष्ठले कक्षाकोठामा शिक्षकको भौतिक उपस्थितिजस्तै हुने अनुभव सुनाइन्।

पर्दामा पुस्तकका साथै दृश्य हेर्दै र अडियो सुन्दै पढ्दा समय बितेको पत्तै नहुने कक्षा ११ का गौतम विकले बताए।

उनीहरूले दक्षिण कोरियाको भाषा, संस्कृति र रहनसहनबारे पढिरहेका छन्।

कक्षा कोठामा शिक्षकको भौतिक उपस्थितिबिनै प्रविधिको प्रयोग गरेर फरक ठाउँबाट पनि पढाउन सकिने विद्यालयका प्रधानाध्यापक किसन पुनले बताए।

‘अहिले परीक्षणका क्रममा छौं’, उनले भने, ‘विषयगत शिक्षक नभएको विद्यालयमा टेलिटिचिङबाट पढाउन सकिन्छ ।’

विद्यार्थीको पढाइप्रति रुचि बढेको छ। विद्यालयलाई टेलिटिचिङका साथै भवन र कम्प्युटर ल्याब सञ्चालन गर्न पनि दक्षिण कोरियाको अम हङ गिल फाउन्डेसनले सहयोग गरेको छ। मासिक २७ हजार इन्टरनेटको शुल्क तिर्न पनि संस्थाले नै सहयोग गरेको छ।

फाउन्डेसनको सहयोगमा नौकोठे भवन निर्माण भएको व्यवस्थापन समितिका अध्यक्ष वुद्धि पुनले बताए।

यसअघि १६ ल्यापटप सहयोग गरेको संस्थाले थप २१ उपलब्ध गराउन लागेको छ। कक्षा ६ देखि ९ सम्म कम्प्युटर पठनपाठन हुन्छ।

कक्षा १ र २ मा अंग्रेजी माध्यमबाट पढाउने गरिएको सहायक प्रधानाध्यापक गोविन्द थापाले जानकारी दिए। कक्षा १२ सम्म पठनपाठन हुने सो विद्यालयमा २६१ विद्यार्थी अध्ययन गर्छन्।  –रासस

प्रकाशित: Feb 06, 2020| 10:21 बिहीबार, माघ २३, २०७६
प्रतिक्रिया दिनुहोस्