काठमाडौं- सरकारले काठमाडौं भित्रने सवारीसाधनले धुलो र हिलो भित्र्याएको भन्दै सवारीसाधन धोई पखाली मात्रै उपत्यका प्रवेश गराउने भएको छ। सवारीसाधन धुने ठाउँ (वासिङ सेन्टर) को निर्माण भएपछि उपत्यकामा सवारीसाधनले भित्र्याउने फोहाेर कम हुने यातायात व्यवस्था विभागले जनाएको छ।
उपत्यका भित्रने निजी र सार्वजनिक सबै सवारीसाधन केन्द्रमा धोएर मात्रै उपत्यका छिर्ने व्यवस्था मिलाइने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए। उनका अनुसार विभागले अहिले धादिङको विभिन्न स्थानमा जग्गा खोजी गरिरहेको छ। उपयुक्त जग्गा भेटिनासाथ केन्द्र निर्माण सुरु हुने छ।
अहिले झण्डै पाँच-छ ठाउँमा जग्गा हेरिरहेकामा उपयुक्त स्थान छनोट हुने बताइएको छ। यसले गर्दा सवारीसाधनका कारण हुने धुलो र हिलो कम हुने विश्वास गरिएको छ। उपत्यकाबाहिरदेखि आउने सवारीसाधन मात्रै नभएर उपत्यकाभित्रै गुड्ने सवारीसाधनले समेत उपत्यकाका सडक फोहर बनाइरहेको महानिर्देशक हमालले बताए।
काठमाडौं उपत्यकाका सडकमा धुलो र हिलोका कारण उपत्यकावासी हैरान छन्। काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, सडक विभाग लगायतले सडकको धुलो सफा गर्नका लागि यान्त्रिक कुचो (ब्रुमर) सञ्चालन गरिरहेका छन्। सवारीसाधनबाटै भित्रने फोहर, निर्माण सामग्रीलगायतले दैनिक फोहर भित्र्याउँदा सडक धुलो र हिलोमुक्त भने बन्न सकेको छैन।
रासस