बिहीबार, चैत १२, २०८२

कोरोनाको शंका लाग्यो ? यी नम्बरमा फोन गर्नुुस्

सरकारले चीनमा रहेका नेपाली नागरिकलाई ल्याउने तयारी पूरा भएको जनाए पनि कहिले ल्याउने र कहाँ राख्ने भन्ने यकिन भएको छैन ।
 |  मंगलबार, माघ २१, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २१, २०७६

काठमाडौं– सरकारले चीनमा रहेका नेपाली नागरिकलाई ल्याउने तयारी पूरा भएको जनाए पनि कहिले ल्याउने र कहाँ राख्ने भन्ने यकिन भएको छैन । आज प्रतिनिधिसभामा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सम्भावित संक्रमितलाई लक्ष्य गरेर तीन अस्पतालमा ४३ बेड छुट्याइएको बताएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल र वीर अस्पतालमा ती बेडहरुलाई आइसोलेट गरिएको बताइएको छ ।

National life

यसैगरी यस्तो रोगविरुद्ध लड्नका लागि ३०० बेडको सरुवा रोग उपचार गर्ने अस्पताल बनाउने तयारी सरकारले गरेको जनाइएको छ । विभिन्न जिल्लामा हेल्थ डेस्क राख्ने काम भइसकेको छ । तर चीनमा रहेका नेपाली नागरिकले छिटो नेपाल फर्काउन आग्रह गरेपनि नेपाल सरकारले उनीहरुलाई ल्याएर राख्ने ठाउँको विकल्प खोजिरहेका कारण नेपालीलाई फर्काउन ढिलासुस्ती गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले भने, ‘हामीले उनीहरुलाई बस्तीबाहिर कम्तिमा १४ दिन राख्ने तयारी गरिरहेका छौं। त्यो परीक्षणबाट भाइरस देखिएन भनेमात्रै उहाँहरुले आफन्तसँग भेटघाट गर्न जान पाउनुहुन्छ ।’

चीनबाट ल्याउने नेपाली नागरिकको लागि क्वारेन्टाइन स्थानको अन्तिम टुंगो लगाउन मुख्य सचिवको कार्यालयमा छलफल हुन लागेको उनले बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, पर्यटन मन्त्रालय लगायतका सम्बन्धित निकायका पदाधिकारीहरु बीच छलफल गरी टुंगो लगाइने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

चीनबाट फर्किन पाऊँ भन्दै १ सय ८० जना नेपालीले स्वदेश फर्कने फर्म भरेका छन् । नेपाल ल्याउनु अगाडि नै चीनको विमानस्थलमा उनीहरुको स्वास्थ्य परीक्षण गर्ने र भाइरसको संक्रमण नदेखिएकालाई मात्र नेपाल ल्याउने तयारी सरकारले गरेको छ । लक्षण देखिएकालाई चीनमा नै आइसोलेसनमा राखेर उपचार गरिने प्रवक्ता श्रेष्ठले बताए ।

Laxmi sunrise bank
kumari

पछिल्लो समय कोरोनाको त्रासका कारण मानिसहरुले परीक्षणको आग्रह गर्न थालेपछि सरकारले परामर्शको लागि हटलाइन सेवा उपलब्ध गराएको छ । आफूलाई कोरोनाको शंका लागेमा स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको टेलिफोन नं. ९८५१२५५८३९, ९८५१२५५८३७ मा सम्पर्क गरेर परामर्श लिन सकिनेछ । परामर्शको लागि बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सम्पर्क गर्न सकिन्छ ।

नेपालमा हालसम्म कोरोनाको आशंकामा १४ वटा परीक्षण भएकोमा १३ जनामा नेगेटिभ देखिएको छ भने १ जनालाई पोजेटिभ देखिएको थियो ।
कोरोना भाइरस चीनका २२ वटा प्रान्त र विश्वका २३ वटा मुलुकमा फैलिएको छ। डब्लुएचओका अनुसार अहिलेसम्म १७ हजार ३ सय ५१ जना व्यक्ति यसबाट संक्रमित भएका छन्। यीमध्ये १७ हजार २ सय ३८ जना चीनमा छन्।

प्रकाशित: Feb 04, 2020| 18:04 मंगलबार, माघ २१, २०७६
प्रतिक्रिया दिनुहोस्