काठमाडौं- प्रतिबन्धित नेत्र विक्रम चन्द (विप्लव) समूहका सर्लाही इन्चार्ज कुमार पौडेलमाथि गोली चलाउने प्रहरीविरुद्ध मुद्दा चलाउने तयारी भएको छ ।
पौडेलको हत्या आरोपी प्रहरी निरीक्षक कृष्णदेव (केडी) साह तथा हवल्दारद्वय श्रीविनोद साह र सत्यनारायण मिश्रमाथि थप अनुसन्धान गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।
गृहले शुक्रबार प्रहरी प्रधान कार्यालयलाई पत्र पठाई निरीक्षक साह तथा हवल्दारद्वय साह र मिश्रमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्न निर्देशन दिएको हो ।
गृहको निर्देशन आएपछि प्रहरी प्रधान कार्यालयले उनीहरूलाई कारबाहीका लागि आइतबारै प्रदेश २ प्रहरी मुख्यालय धनुषालाई पत्र पठाएको छ ।
प्रदेश २ का प्रहरी प्रमुख प्रद्युम्न कार्कीले कुमार पौडेल प्रकरणका आरोपितबारे प्रहरी प्रधान कार्यालयबाट पत्र आएको पुष्टि गरे । उक्त पत्र जिल्ला प्रहरी कार्यालय धनुषालाई पठाइएको उनले बताए ।
०७६ असार ५ गते बिहीबार दिउँसो लालबन्दी–१, लखन्देही खोलादेखि पूर्वको जंगलमा पौडेलको गोली हानी हत्या भएको थियो । हत्या ढाकछोप गर्न प्रहरीले पौडेल इन्काउन्टरमा मारिएको दाबी गर्दै आएको छ ।
राष्ट्रिय मानवअधिकार आयोगले गत कात्तिक ३ मा पौडेल हत्या आरोपित उनीहरूलाई निलम्बन गरी फौजदारी कसुरमा मुद्दा चलाउन सरकारलाई सिफारिस गरेको थियो ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रत्यक्ष कमान्डमा रहेको विशेष ब्युरोबाट खटिएको केडी साह नेतृत्वको घुमुवा टोलीले पौडेलमाथि गोली हानेको थियो ।
ब्युरोको टोलीले हत्या गरेको विषय विवादमा आउने डरले पौडेललाई दोहोरो मुठभेडमा मारिएको भन्दै घटनाको सत्यतथ्य लुकाउन प्रहरी नेतृत्व लागेको आरोप थियो । कान्तिपुरबाट