काठमाडौं- जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँचवटा मुद्दा दायर गरेको छ।
६ लाख ४२ हजार ६ सय रुपैयाँ घुस लिएको अभियोगमा रिजालविरुद्ध अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार रिजालले आफ्नो क्षेत्राधिकार भित्रका मुद्दामा अभियुक्तलाई धरौटीमा छोड्ने तथा थप मुद्दा लाग्ने भनी डरत्रास देखाई घुस लिएको खुलेको छ।
कोइरालाका अनुसार रिजालले एउटा मुद्दामा महिलासम्बन्धी केस लाग्छ, थुनिदिन्छु, जागिर जान्छ, जिल्ला प्रशासन कार्यालयमा हाजिर गराउँछु भनी डरत्रास देखाई धरौटी भनी झुक्याई सेवाग्राहीबाट चार लाख घुस लिएको खुलेको छ।
सेवाग्राहीले माछापुच्छ्रे बैंकमा रिजालको खातामा जम्मा गरेको दुई लाख र बाँकी दुई लाख उनीबाट जफत गर्न अख्तियारले माग दाबी गरेको छ।
यस्तै रिजालले अर्को मुद्दामा एक लाख ५० हजार नदिएमा कारागारमा पाँच वर्ष थुनिदिन्छु भन्दै धम्क्याएर ५० हजार रुपैयाँ घुस लिएको अनुसन्धानबाट खुलेको कोइरालाले जानकारी दिए।
रिजालले एउटा मुद्दामा ९–१० वर्ष कारागार चलान गराउँछु भनी डरत्रास देखाई सेवाग्राहीबाट ९० हजार रुपैयाँ घुस लगेको खुलेको अख्तियारले जनाएको छ।
साथै उनले भ्रमण अभिलेख खातामा दर्ता नगरी कुनै प्रतिवेदनसमेत पेश नगरी ७७ हजार ६ सय रुपैयाँ भ्रमण भत्ता बुझेको अख्तियारले जनाएको छ।
रिजालले कतिपय भ्रमण आदेश र दैनिक तथा भ्रमण खर्चको बिलमा स्वीकृत गर्ने अधिकारीको दस्तखतसमेत नगरी अनुगमनमा गएको भनी भ्रमण भत्तासमेत बुझेका दिनहरुमा अनुगमनमा नै नगई आफैंले सुरक्षा समितिको बैठक बसालेको खुलेको अख्तियारले जनाएको छ।
यस्तै रिजालले अर्को मुद्दामा महिलासम्बन्धी मुद्दा लगाएर ९–१० वर्ष कारागार चलान गराउँछु भनेर डरत्रास देखाई ३५ हजार रुपैयाँ घुस लिएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ।
सेवाग्राहीबाट घुस लिएको भिडिओ नै सार्वजनिक भएपछि रिजालविरुद्ध अख्तियारले अनुसन्धान थालेको थियो। अख्तियारकै निर्देशनमा गृह मन्त्रालयले रिजाललाई पदबाट निलम्बनसमेत गरेको थियो।