काठमाडौं- आइतबार दिउँसो करिब १२ बजे । भक्तपुरको सूर्यविनायक–५ मा रहेको ग्लोरी इंलिस स्कुलको यूकेजीमा पढ्ने ६ वर्षीया एक बालिकालाई अस्पताल लान्छु भन्दै एक युवकले लगेर गए।
अस्पताल नलगेर ती युवकले बालिकालाई मोटरसाइकलमा राखेर भक्तपुरकै घ्याम्पे डाँडामा लगे। बालिकाको हात पछाडि बाँधेर राखे। बालिका रोइकराइ गर्न थालेपछि घुम्न आउने मानिसले आवाज सुन्ने डरले थापा बालिकालाई छाडेर भागे।
जंगलमा रोएको सुनेर घुम्न आउने मानिसले सोधपुछ गर्दा उनले स्कुलको नाम बताएपछि सर्वसाधारणले उनलाई स्कुलसम्म छाडिदिए।
जब बालिका स्कुल पुगिन्, अनिमात्र उनी अपहरणमा परेको थाहा भयो। बालिकाका बुबा र र प्रिन्सिपल महानगरीय वृत्त ठिमीमा पुगेर निवेदन दिए।
बालिका अपहरणमा परेको ५ घन्टापछि महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकु र महानगरीय प्रहरी वृत्त, ठिमीको टोलीले अपहरणकारी सर्लाहीको लालबन्दी–५ घर भई बोडेमा बस्ने २० वर्षीय आशिष थापालाई पक्राउ गर्यो।
थापाले बालिकाको बुबालाई फोन गरेर १६ लाख रुपैयाँ फिरौती मागेको प्रहरीले जनाएको छ। महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहका अनुसार थापाले फिरौतीबापतको रकम ठिमीमा रहेको भाटभटेनीमा ल्याएर दिन भनेका थिए।
भनेकै ठाउँमा भनेकै जति रकम दिन तयार भएर बोलाई थापालाई पक्राउ गरेको सिंहले जानकारी दिए। प्रहरीका अनुसार बालिकाको परिवार र थापाको घर सर्लाही नै हो भने भक्तपुरमा पनि कोठा नजिकै छ।
घटनाबारे थप अनुसन्धान भैरहेको ठिमी प्रहरीले जनाएको छ।