काठमाडौं- सत्तारुढ नेकपाको जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको आज अध्यक्षद्वयले जवाफ दिने भएका छन् ।
शुक्रबार र शनिबार पन्ध्र समूहका टोली नेताले समूहगत छलफलको निष्कर्ष पेश गरेपछि आज अध्यक्ष केपीशर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिन लागेका हुन् ।
चार दिनदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरुले समूहगत रूपमा सरकारको काम र पार्टी नेतृत्वका विषयमा गम्भीर प्रश्न उठाएका छन् ।
एमसीसी विवादका विषयमा पार्टीको धारणा माग गरिएको छ भने पार्टीभित्र नेतृत्वले नै गुट चलाएको भन्दै चर्को विरोध गरेका छन् ।
यसैगरी पार्टीकै नेताहरुले शिक्षा र स्वास्थ्यलाई व्यापार बनाएको, पार्टीमा महिलाको सहभागिता कम भएकोलगायतका विषय केन्द्रीय समितिमा उठेको छ। नेता–कार्यकर्ता र मन्त्रीहरुबीचको दुरी तथा निर्वाचन प्रणालीका विषयमा प्रश्न उठेको हो।
सरकारको कामकाज सन्तोषजनक नभएकोमा केन्द्रीय सदस्यहरु असन्तुष्ट छन् भने यति, बालुवाटार, वाइडबडी काण्डका विषयमा केन्द्रीय सदस्यहरुले प्रश्न गरेका छन्।
देशको सीमा मिचिएको विषयमा सरकारले पहल नगरेको विषय तथा नेताहरुको सम्पति छानविनका लागि आयोग गठनको माग केन्द्रीय सदस्यहरुले गरेका हुन्।
केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिनुअघि आज बालुवाटारमा सचिवालय बैठक बस्दैछ । सचिवालय बैठकमा केन्द्रीय समिति बैठकमा सदस्यहरुले राखेका प्रश्नको जवाफका बारेमा छलफल हुने नेताहरुले बताएका छन् ।
सचिवालय बैठक आइतबार ११ बजे बालुवाटारमा बस्न लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।