मंगलबार, जेठ ५, २०८३

जहाँ प्रधानाध्यापकदेखि कार्यालय सहयोगीसम्म महिला छन्

घोराही उपमहानगरपालिका–१० स्थित खैरा माध्यमिक विद्यालयमा प्रधानाध्यापकदेखि कार्यालय सहयोगीसम्म सबै महिला छन्।
 |  शुक्रबार, माघ १७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १७, २०७६

दाङ– अवसर पाए महिलाले जुनसुकै क्षेत्रमा पनि सफलता हासिल गर्न सक्छन् । यसलाई साबित गरेका छन्, घोराही उपमहानगरपालिका–१० स्थित खैरा माध्यमिक विद्यालयमा कार्यरत महिला कर्मचारीले।

National life

यो त्यस्तो विद्यालय हो, जहाँ प्रधानाध्यापकदेखि कार्यालय सहयोगीसम्म सबै महिला छन्। विद्यालयमा हाल १६ शिक्षक, एक कर्मचारी र एक कार्यालय सहयोगी कार्यरत छन्।

विद्यालयकी प्रधानाध्यापक छिन्, श्यामा रावत। उनी तीन वर्षदेखि विद्यालयको नेतृत्व गरिरहेकी छन्। उनले नेतृत्व सम्हालेपछि विद्यालयको शैक्षिक स्तर सुधार भएको छ।

विद्यालयको शैक्षिक वातावरण, सिकाइ उपलब्धि, व्यवस्थापनलगायतमा विद्यालय नमुना बनेको छ। त्यति मात्रै होइन, गत वर्षदेखि विद्यालयमा कक्षा ९ र १० को पढाइ थप भएको छ। नयाँ भौतिक संरचना बन्ने क्रममा छन्।

“शिक्षक मात्र हुँदा जिम्मेवारी धेरै नहुने कर्तव्य पूरा गरे पुग्थ्यो। प्रधानाध्यापक भएपछि कर्तव्य, जिम्मेवारी र उत्तरदायित्व धेरै हुँदोरहेछ,” प्रधानाध्यापक रावत भन्छिन्।

विद्यालयमा छात्रालाई सेनेटरी प्याड र त्यसलाई विसर्जन गर्ने सुविधा पनि दिएकाे छ।

सहायक प्रधानाध्यापक विमला अधिकारी सबै कर्मचारीले आफ्नो जिम्मेवारी निर्वाह गर्दा पछिल्लो समय शैक्षिक गुणस्तरमा सुधार आएको दाबी गर्छिन्। “सबै शिक्षकलाई कामको जिम्मेवारी छ। प्रार्थना, अतिरिक्त क्रियाकलापजस्ता विविध क्रियाकलापको जिम्मेवारीअनुसार सबै शिक्षकले आफ्नो जिम्मेवारी पूरा गर्नुहुन्छ, ” उनले भनिन्।

उनले कार्यालयमा खाका बनाएर अफिस कोठामा टाँस्ने गरेको र त्यसैका आधारमा काम गर्ने गरेको बताइन्। 

जिल्लाका अन्य विद्यालयभन्दा आफ्नो विद्यालय कम नभएको उनको दाबी छ।

सुरुमा मानिसहरू महिलाले कसरी विद्यालय चलाउलान् भनेर कुरा काटे पनि अहिले प्रशंसा गर्ने गरेको उनले सुनाइन्।

शिक्षा विकास तथा समन्वय एकाइ, दाङका अनुसार विद्यालयमा महिला प्रधानाध्यापक पनि छन्। तर, सबै महिलामात्रै भएको विद्यालय अरु छैन।

जिल्लाको मौरीघाट माविमा सीता रिजाल, सरस्वती मावि काठेकोलमा वसन्ता पौडेल, रक्षाचौर माविमा विष्णु केसीले प्रधानाध्यापककाे जिम्मेवारी सम्हालिरहेका छन्।

घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका प्रमुख नारायण गौतम पछिल्लो समय खैरा माविको शैक्षिक र भौतिक गुणस्तरमा निकै सुधार आएको बताउँछन्।

उनले विद्यालयको आर्थिक पारदर्शिता तथा सिकाइ क्रियाकलाप पनि नमुनायोग्य भएको जानकारी दिए।

गत वर्ष यो विद्यालय बालमैत्री विद्यालय घोषणा भएको थियो।

प्रकाशित: Jan 31, 2020| 09:55 शुक्रबार, माघ १७, २०७६
प्रतिक्रिया दिनुहोस्