काठमाडौं– मानव बेचबिखन आरोपमा दक्षिणकाली नगरपालिका–४ का वडाध्यक्ष पुष्कर खड्कासहित तीन जना पक्राउ परेका छन्।
महानगरीय प्रहरी परिसर, ललितपुर र महानगरीय प्रहरी प्रभाग, सानेपाको संयुक्त टोलीले खड्कासँगै काठमाडौं महानगरपालिका–१६का ब्रिजगोपाल श्रेष्ठ र भारतीय नागरिक नवल ठाकुरलाई गत शुक्रबार सानेपाबाट पक्राउ गरेको हो।
एक महिलाले सानेपास्थित खाजाघरमा देह व्यापार हुने गरेको उजुरी गरेपछि प्रहरीले उक्त स्थानमा छापासमेत मारेको थियो।
उजुरीबारे अनुसन्धान गर्न खड्कासहित तीन जनालाई गत शुक्रबार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेकामाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ९ दिन म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।