रौतहट - रौतहटमा प्रहरी गस्ती टोलीमाथि गोली प्रहार गर्ने भारतीय नागरिक पेस्तोलसहित पक्राउ परेका छन्।
पइशनाथ नगरपालिका–१ वकैया खोलाको बाँधमा खटिएको प्रहरी टोलीमाथि बुधबार बिहान गोली प्रहार गर्ने भारत विहार मोतिहारी-४ बस्ने २१ वर्षीय शेख चाँद अली पेस्तोलसहित पक्राउ परेका हुन्।
प्रहरीले गरेको जवाफी फायरमा चाँद अली घाइते भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रौतहट र सीमा प्रहरी चौकी बंजराबाट खटिएको प्रहरीमाथि मोटरसाइकलमा आएको समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ।
भारतबाट नेपालतर्फ आउँदै गरेका मोटसाइकलमा सवार ३ जनाले प्रहरीलाई लक्षित गरी फायर गरेकोमा प्रहरीले आत्मरक्षाका लागि जवाफी फायर गर्दा चाँद अली घाइते भएको प्रहरीले जनाएको छ।
घाइते चाँद अलीको जिल्ला अस्पताल गौरमा उपचार भइरहेको छ। प्रहरीले घटनास्थलबाट कटुवा पेस्तोल १ थान, गोली १ राउण्ड र खोका १ थान बरामद गरेको छ।
मोटरसाइकलसहित फरार रहेका अन्य २ जनाको खोजी भैरहेको प्रहरीले जनाएको छ।