धनुषा - धनुषामा बुधबार भएको सडक दुर्घटनामा श्रीमान्-श्रीमतीको मृत्यु भएको छ भने छोरा घाइते भएका छन्। पूर्वपश्चिम राजमार्गको धनुषाको गणेशमान चारनाथ नगरपालिका-६ गोदार सडकखण्डमा बोलेरो र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार उनीहरुको घटनास्थलमै मृत्यु भएको हो।
मृत्यु हुनेमा सोही वडामा बस्ने मोटरसाइकल चालक ५० वर्षीय जोगेन्द्र साह र उनकी पत्नी ४० वर्षीया प्रमिला रहेकी छिन्। उनीहरुका नौं वर्षीय छोरा जोन सामान्य घाइते भएका र उनको उपचार भैरहेको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।
पूर्वपश्चिम राजमार्ग खण्डमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ६४ प ३०४८ नंको मोटरसाइकल र विपरीत दिशातर्फबाट आउँदै गरेको स१च १८५८ नंको बोलेरो ठोक्किएका थिए। ठक्कर दिने बोलेरो र चालकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए।