काठमाडौं- कोरोना भाइरसको त्रास नेपाली जेलहरुमा पनि देखिएको छ। चिनियाँ कैदी–बन्दी भएका कारागारहरुमा विशेष सर्तकता अपनाइएको छ।
डिल्ली बजार कारागारमा भेटघाट गर्न जानेलाई सावधान गरिएको छ। भेटका लागि जेल पुग्ने सबैलाई सेनिटाइजरले हात सफा गर्न लगाउने गरिन्छ।
डिल्लीबजार कारागारभित्र केही चिनियाँ कैदीबन्दी छन्। उनीहरुलाई भेट्न जानेहरुमाथि विशेष निगरानी राखिएको कारागार अस्पतालले जनाएको छ।
बुधबार पनि कारागार अस्पतालले कैदीबन्दीहरुको चेकजाँच गरेको छ। चेकजाँच नियमित भए पनि बुधबार कोरोना भाइरसलाई ध्यानमा राखेर चेकजाँच गरिएको छ।
कारागार व्यवस्थापन विभागका सूचना अधिकारी देवर्षी सापकोटाका अनुसार नेपालमा चिनियाँ कैदीबन्दी कति छ भन्ने तथ्यांक नभई जम्मा विदेशी कैदीहरुको तथ्यांक रहेको छ।
उनका अनुसार केन्द्री कारागार र नख्खु कारागारमा अधिकांश विदेशी कैदीबन्दी राखिएका छन्।
उनीहरुलाई भेट्न आउनेहरुबाट संक्रमण हुन सक्ने भन्दै सतर्कता अपनाइएको सापकोटाले जनाए।