काठमाडौं- राजधानीबाट प्रकाशित बुधबारका राष्ट्रिय दैनिक अखबारहरु विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् ।
आजको कान्तिपुर दैनिकले अमेरिकी पत्रका कारण नेपालले चीनसँग सुपुर्दगी सन्धि नगरेको खुलासा गरेको छ ।
जुन पत्रले रोक्यो सुपुर्दगी सन्धि शीर्षकमा मुख्य समाचार छापेको कान्तिपुरले लेखेको छ– चीनका राष्ट्रपति सी चिनफिङ गत असोज तेस्रो साता नेपाल भ्रमणमा आउनुभन्दा एक दिनअघि अमेरिकी संसद्को वैदेशिक मामिला समितिले ‘चीनसँग सुपुर्दगी सन्धि नगर्न’ आग्रह गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई सीधा पत्र लेखेको खुलेको छ ।
अमेरिकी सिनेटर एवं वैदेशिक मामिला समिति सदस्य रबर्ट मेनेनडेजले अक्टोबर ११ (असोज २४) मा ‘चिनियाँ राष्ट्रपतिको आसन्न नेपाल भ्रमणमा चीनसँग सुपुर्दगी सन्धि गर्न नेपाल तत्पर रहेको र यसबाट नेपालमा रहेका तिब्बती शरणार्थी हटाउने प्रक्रिया अघि बढ्न सक्ने’ भनी पत्रै लेखेर ध्यानाकर्षण गराएका थिए ।
परराष्ट्र र गृह स्रोतका अनुसार चीनसँग सुपुर्दगी सन्धि गर्ने भनेर द्विपक्षीय सहमतिमा तयार पारिएको सम्झौताको मस्यौदा असोज २० गतेको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरिसकेको थियो ।
तर राष्ट्रपति सी आउने अघिल्लो दिन असोज २४ गते बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले ‘प्रतिकूल परिस्थिति उत्पन्न भएकाले यस पटक चीनसँग सुपुर्दगी सन्धि नहुने’ अनपेक्षित जानकारी दिएका थिए । सिनेटरको पत्रसँगै अमेरिकी पक्षबाट ‘चेतावनीपूर्ण सन्देश’ आएका कारण उसबेला सरकार पछाडि हटेको समाचारमा उल्लेख छ ।
यस्तै आजको नागरिक दैनिकले सभामुख अग्नि सापकोटाका विषयमा सर्वोच्च अदालतमा भएको बहसलाई मुख्य समाचार बनाएको छ। गृहलाई सर्वोच्चको प्रश्नः सापकोटाविरुद्धको अनुसन्धान कहाँ पुग्यो शीर्षकमा उसले खबर छापेको छ ।
यस्तै राहादानी विभागले एमआरपी पासपोर्टमा लेमिनेसनको भाग हटाएर करिब आठ करोड रुपैयाँ अनियमितता गरेको नागरिकले खुलासा गरेको छ ।
सन् २०१० मा ४५ लाख थान एमआरपी छाप्दा दोस्रो र ३१ औं पेजमा पुरै लेमिनेसन गरिएको थियो । तर २०१४ देखि विभागले छाप्दा दोस्रो र ३१ औं पेजको लेमिनेसन पुरै हटाएर घोटाला गरेको समाचारमा उल्लेख छ ।
आजको अन्नपूर्ण पोस्ट्ले संसद्मा प्रधानमन्त्री केपीशर्मा ओलीले एमसीसी पारित गर्नु पर्ने भनि दिएको अभिव्यक्तिलाई मुख्य समाचार बनाएको छ ।
यस्तै दुग्ध विकास संस्थान (डीडीसी)मा डेढ करोड घोटाला भएको विषयलाई पनि अन्नपूर्णले प्राथमिकताका साथ छापेको छ।
समाचारमा लेखिएको छ– पछिल्लोपटक डीडीसीअन्तर्गतको बालाजु आयोजनाबाट एक करोड ५८ लाख ५२ हजार पाँच सय मूल्यबराबरको अर्धतयारी घिउ, धुलो दूध र तयारी घिउ हिनामिना भएको तथ्य फेला परेको हो ।
डीडीसी स्रोतका अनुसार बालाजु आयोजनाबाट ५६ लाख मूल्यको सात हजार किलो अर्धतयारी घिउ (फ्याट) गायब पारिएको छ। यस्तै सोही आयोजनाबाट ९४ लाख ८७ हजार पाँच सय मूल्यको १६ हजार पाँच सय किलो धुलो दूध तथा सात लाख ७५ हजार मूल्यको नौ सय किलो तयारी घिउ हिनामिना भएको समाचारमा उल्लेख छ ।