काठमाडौं– नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा डा. धनञ्जय रेग्मी नियुक्त भएका छन्। खुला प्रतिस्पर्धाबाट उनी सीईओ छानिएका हुन्।
पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी संयोजकत्वको छनोट समितिले उनीसहित तीनजनालाई सिफारिस गरेको थियो। एक नम्बरमा सिफारिस भएका रेग्मी मंगलबार सीईओ नियुक्र भएका हुन्।
बोर्डको मंगलबार बसेको बैठकले सिफारिसबमोजिम सबैभन्दा धेरै अंक ल्याएका रेग्मीलाई सर्वसम्मत रुपमा नियुक्त गरेको हो। एक साताअघि नै समितिले सिफारिस गरे पनि केही दिन नियुक्ति रोकिएको थियो।
स्याङ्जाका रेग्मी जलवायु परिवर्तन तथा हिमतालहरुको अध्येता हुन्। पर्यटन क्षेत्रका पनि विज्ञ मानिन्छन् उनी। छनोट समितिले प्रतिस्पर्धामा रहेका ९ जनामध्ये लिखित र मौखिक परीक्षापछि रेग्मीसहित हिक्मतसिंह ऐर र दिपक बस्ताकोटीलाई छनोट गरेको थियो ।