काठमाडौं– आन्तरिक राजस्व कार्यालय चितवनमा कार्यरत कम्प्युटर अधिकृत रामकुमार अधिकारीलाई अख्तियार दुृरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ।
विद्युतीय बीजक जारी गर्ने अनुमति पत्र बनाई दिने भनी सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा अधिकारीलाई अख्तियारको टोलीले मंगलबार पक्राउ गरेको हो।
आयोगको कार्यालय हेटौडाबाट खटिएको टोलीले अधिकारीलाई उनकै कार्यकक्षबाट घुस रकमसहित नियन्त्रणमा लिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
यस्तै अख्तियारले एक जना लेखा अधिकृत र एक शिक्षकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
पूर्वाधार विकास कार्यालय ३ नं. प्रदेश ललितपुरका लेखा अधिकृत बिष्णु हरि पुडासैनी र शहिद स्मारक माध्यमिक विद्यालय, कम्दी–७ पदमपुर, बाँकेमा प्राथमिक तहमा स्थायी रुपमा कार्यर शिक्षक उदयराज यादवविरुद्ध मुद्दा दायर गरिएको हो।
प्रवक्ता कोइरालाका अनुसार लेखाअधिकृत कोइराला सेवाग्राहीसँग लिएको २२ हजार घुससहित पक्राउ परेका थिए भने यादवको शैक्षिक योग्यताको प्रमाण पत्र नक्कली भएको पाइएको छ।
कोइरालाले पि.के.बी. निर्माण सेवामार्फत हेटौंडा फर्पिङ, सिस्नेरी सडक निर्माणको टेन्डर सम्झौता बमोजिमको मोविलाइजेशन पेश्की उपलब्ध गराउने क्रममा २२ हजार घुस मागेको अनुसन्धानका क्रममा खुलेको अख्तियारले जनाएको छ।
शिक्षक यादवले माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश बोर्ड अफ हाईस्कुल एण्ड इन्टरमिडिएट एजुकेशन यू.पी. भारतबाट हाईस्कुल उत्तीर्ण गरेको झुठ्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएको खुलेको अख्तियारले जनाएको छ।
यादव २०४१ कार्तिक २६ गते शिक्षकको रुपमा सेवा प्रवेश गरी गएको पुस २९ सम्म जागिर खाएको खुलेको प्रवक्ता कोइरालाले जानकारी दिए।