बुधबार, भदौ ३, २०८३

साँखुबाट चार सय वर्ष पुरानो महादेवको मूर्ति चोरी

शङ्खरापुर नगरपालिकाको साँखुबाट ४०० वर्ष पुरानो ज्योतिलिङ्गेश्वर महादेवको मूर्ति चोरी भएको छ ।
 |  मंगलबार, माघ १४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १४, २०७६

काठमाडौं- शङ्खरापुर नगरपालिकाको साँखुबाट ४०० वर्ष पुरानो ज्योतिलिङ्गेश्वर महादेवको मूर्ति चोरी भएको छ ।

साल्खा महादेवस्थानको नामले चिनिने सुनको जलप लगाएको तामाको प्रतिमूर्ति साँखुका मूल पुरोहित सुदनराज राजोपाध्यायको घरबाट आएतबार राति चोरी भएको हो ।

हरेक वर्ष जनैपूर्णिमाको जात्रामा पूजा गरिने अन्दाजी २.५ फिटको चारमुखी ज्योतिलिङ्गेश्वर महादेवको मूर्ति मध्यरातमा घरबाटै चोरी भएको पूजारी सुदनराज राजोपाध्यायले जानकारी दिए । भूकम्पले मूर्ति राख्ने घर भत्किएपछि पूजारीकै घरमा मूर्ति राख्ने गरिएको थियो ।

पूजारीको काका नाता पर्ने आनन्दराज राजोपाध्याय राति शौचालय जान खोज्दा घरको ढोकामा बाहिरबाट चुकुल लगाएको पाएपछि उनी झ्यालबाट निस्किएका थिए । मूर्ति राखिएको कोठाको ढोका खुल्ला देखिएपछि गएर हेर्दा चोरी भएको थाहा पाएको राजोपाध्यायले बताए ।

उनी भन्छन्, “अन्य कोठामा समेत बाहिरबाटै चुकुल लगाएको देखेपछि महादेवको मूर्ति राख्ने कोठामा गए, हेर्दा मूर्ति नभेटिएपछि तत्कालै छिमेकी र प्रहरीलाई खबर गरिहालेँ ।”

उनका अनुसार घरको पर्खालमा रहेको गमला फुटेको र पर्खाल नजिकै मूर्तिमा रहेको महादेवको नाग भेटिएकाले घरको पर्खाल चढेर मूर्ति चोरेको हुनसक्ने आशङ्का रहेको छ ।

मूर्ति राखिएको पूजारीको घरमा व्रतालुसमेत बस्ने गरेकाले व्रतालुलाई आवतजावतमा समस्या नहोस् भनी मूलद्वारमा तालासमेत लगाउने गरेको थिएन ।

घटनाको खबर प्राप्त भएलगत्तै प्रहरी परिचालन गरेको महानगरीय प्रहरी प्रभाग साँखुले जानकारी दिएको छ । ज्योतिलिङ्गेश्वर महादेव ६४ लिङ्गेश्वरमध्ये ३४औँ लिङ्गेश्वरका नाममा चिनिन्छ ।

यस ठाउँमा माधवनारायण ज्योतिलिङ्गेश्वर महादेवको व्रत बस्ने व्रतालु शिवरात्रिका दिन जाग्राम बस्दछन् । उक्त दिन जाग्राम बसेपछि मात्रै माधवनारायण व्रतका क्रममा आफूले इच्छाएको पूरा हुने जनविश्वास छ । रासस

प्रकाशित: Jan 28, 2020| 07:41 मंगलबार, माघ १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।