काठमाडौं– कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिन थालेपछि चीनले त्यसका लागि नयाँ विशेष अस्पताल बनाउन सुरु गरेको छ । १० दिनमै १ हजार बेडको अस्पताल बनाइसक्ने नयाँ अस्पतालमा फेब्रुअरी ३ देखि उपचार थालिने बताइएको छ ।
नेपालमा पनि कोरोना भाइरस भित्रिएको पुष्टि भइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको बताएको छ । संक्रमित देशबाट आएका सशंकित मानिसहरुलाई निगरानीमा राख्न वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल लगाएत अस्पतालहरुलाई निर्देशन दिइएको छ ।
सरकारले यस्तो निर्देशन दिए पनि अस्पतालहरुसँग संक्रमितलाई राख्ने उपयुक्त वार्ड (आइसोलेसन वार्ड) भने छैन । आइसोलेसन वार्ड नभएका कारण बिरामी राख्न अस्पताल असमर्थ छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार अस्पतालमा उपचार गराइरहेका एक बिरामीबाट अर्को बिरामीलाई रोग फैलन नदिन हरेक अस्पतालले आइसोलेसन वार्ड स्थापना गरी उपचार गर्नुपर्छ । आइसोलेसन वार्डमा छुट्टै मास्क, गाउन, जुत्ता, पञ्जा प्रयोगको सुविधा भएको र बिरामीलाई जाँच्न प्रयोग गरिने उपकरण पनि छुट्टाछुट्टै हुनुपर्छ ।
शिक्षण अस्पतालमा सुविधासम्पन्न आइसोलेसन वार्ड छैन । त्यस्तो वार्ड नभएका कारण तत्कालै बिरामी राख्ने अवस्था नभएको अस्पतालका निर्देशक प्रा.डा. प्रेम खड्काले बताए ।
‘अस्पतालमा अन्य बिरामीको चाप धेरै हुन्छ तर सरुवा रोगका बिरामीको लागि आइसोलेसन वार्ड चाहिन्छ,’ खड्काले भने, ‘विश्व स्वास्थ्य संगठनले तोकेबामोजिमको आइसोलेसन वार्ड छैन । कोरोना संक्रमित बिरामीको लागि प्रयोगमा ल्याइने आइसोलेसन वार्डको विषयमा छलफल भइरहेको छ । इमर्जेन्सी परे अन्य आइसोलेसन वार्डलाई प्रयोगमा ल्याउन सकिन्छ ।’
उता, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि आइसोलेसन वार्ड छैन । अस्पतालमा अहिले जम्मा ६ वटा आइसोलेसन वार्ड छन् तर ती वार्डमा पनि उपकरण पर्याप्त छैनन् । अस्पतालका निर्देशक वासुदेव पाण्डेले भने, ‘अहिले जम्मा ६ वटा आइसोलेसन वार्ड छन् । तर बिरामी बढेको खण्डमा अन्य वार्डलाई व्यवस्थित गरेर प्रयोग गर्नुपर्छ ।’
वीर अस्पतालमा पनि आइसोलेसन वार्ड छैन । सरकारले निर्देशन दिएअनुरुप बेड मिलाउने तयारीमा अस्पताल जुटेको बताइएको छ ।