जनकपुरधाम– प्रदेश कार्यान्वनयमा आएको झण्डै तीन वर्षपछि प्रदेश २ ले स्थायी राजधानी पाउने भएको छ । प्रदेशको स्थायी राजधानी जनकपुरधामलाई तोक्न दलहरुबीच सहमति भएको छ ।
प्रदेशको स्थायी राजधानी र नामबारे सहमति जुटाउन सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष संसदीय समितिमा जनकपुरधामलाई स्थायी राजधानी तोक्न सहमति जुटेको हो। प्रदेशको स्थायी राजधानी जनकपुरलाई तोक्न सर्वसम्मतिले निर्णय भए पनि नामाकरणमा अझै विवाद कायमै रहेको छ ।
सभामुख यादवले जनकपुरधामलाई स्थायी राजधानी तोक्न दलहरुबीच सर्वसम्मतिले निर्णय भएको जानकारी दिए । ‘उत्तरमा राजमार्ग क्षेत्रको ढल्केबर, दक्षिणमा भारतीय सीमा क्षेत्र र पूर्व–पश्चिममा मिथिला मध्यमा परिक्रमा क्षेत्रसहित जनकपुरधामलाई स्थायी राजधानी तोक्न निर्णय भएको छ,’ सभामुख यादवले भने ।
प्रदेशसभा बैठक सुरु भएलगत्तै समितिबाट पारित भएको निर्णय अनुमोदनको लागि पेश गरिने उनले बताए । यादवले स्थायी राजधानीबारे सर्वसम्मतिले निर्णय भएपनि प्रदेश नामाकरणबारे छलफल जारी रहेको जनाएका छन् ।
प्रदेश नामाकरणका सम्बन्धमा प्रस्ताव दर्ता गराएका प्रस्तावक र समर्थकहरुलाई सोमबार छलफलको लागि समितिको बैठकमा बोलाइएको छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुले नामाकरणबारे छुट्टाछुट्टै प्रस्ताव दर्ता गराएका छन् । सोमबार बस्ने समितिको बैठकमा दलहरुबीच सहमतिको प्रयास गरिने सभामुख यादवको भनाइ छ ।
सत्ता साझेदार समाजवादी पार्टी र राजपाले प्रदेशको स्थायी राजधानी जनकपुरधामसहित धनुषा जिल्ला तथा महोत्तरीको सीमामा पर्ने मिथिला परिक्रमा क्षेत्र र नाम मधेश प्रदेश तोक्न प्रस्ताव दर्ता गरेको छ ।
यसैगरी नेपाली कांग्रेसले राजधानी जनकपुरधाम र नाम मिथिला–भोजपुरा र नेकपाले राजधानी जनकपुरसहित मिथिला मध्यमा परिक्रमा क्षेत्र र धनुषाको सम्पूर्ण भू–भाग समावेश गर्न प्रस्ताव गरेको छ ।
कतिपय प्रदेशसभा सदस्यले दलको निर्णयविपरीत समेत प्रस्ताव दर्ता गराएका छन् । पर्सा जिल्लाबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका प्रदेशसभा सदस्य राजेश्वर साहले प्रदेशको नामाकरण ‘मध्य मधेश’ र राजधानी वीरगन्ज हुनुपर्ने प्रस्ताव गरेका छन् भने समाजवादी पार्टीका सिंहासन कलबारको प्रदेशको राजधानी वीरगन्जदेखि सिम्रोनगढसम्म हुनुपर्ने प्रस्ताव दर्ता भएको छ ।