काठमाडौं– गत असोजदेखि खाली रहेको सभामुख पदमा सिन्धुपाल्चोक क्षेत्र नं. १ का सांसद अग्निप्रसाद सापकोटा निर्वाचित भएका छन्। सभामुखका लागि अरु कसैको उम्मेदवारी नपरेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।
प्रतिनिधिसभाको आजको बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुखका लागि सापकोटाको मात्र उम्मेदवारी परेकोले उनी निर्विरोध रुपमा सभामुख भएको घोषणा गरेका हुन्।
त्यसअघि सभामुखका प्रस्ताव, समर्थक तथा प्रतिपक्षी दलका सांसदले बोलेका थिए। नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सापकोटालाई सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
त्यसपछि प्रस्तावक देवप्रसाद गुरुङ, लक्ष्मणलाल कर्ण र ओनसरी घर्तीले समर्थन गरेका थिए। गएको मंगलबार सभामुख पदका लागि सापकोटाको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन्।
को हुन् सापकोटा ?
२४ फागुन २०१४ मा सिन्धुपाल्चोकको साविक कुविण्डे गाविस (हाल चौतारा साँगाचोकगढी नगरपालिका–४) जन्मेका हुन्। श्रीमती र तीन छोरा रहेका सापकोटाले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकाेत्तर पास गरेका छन्।
उच्च शिक्षासँगै अध्यापन सुरु गरेका सापकोटा सिन्धुपाल्चोकमा कुशल हेडसरका रुपमा परिचित छन्। अहिले पनि सापकोटालाई जिल्लावासीले अग्नि सरको सम्बोधन गर्छन्। साँगाचोकको जनजागृति माविमा उनले प्रधानाध्यापक चलाएका थिए। उनले १५ वर्ष अध्यापनमा आफ्नो समय बिताएका थिए।
शिक्षणसँगै उनले राजनीतिमा हामफाले। २०३५ सालमा नेकपाको चौथो महाधिवेशनमा पार्टी सदस्यता लिए पनि विद्यार्थी राजनीति भने उनले २०२९ सालबाट नै सुरु गरेका थिए। २०३७ सालमा शिक्षक संर्घष समितिको सदस्य बनेका सापकोटा नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला उपाध्यक्ष, अध्यक्ष हुँदै संगठनको केन्द्रीय महासचिव र उपाध्यक्षसमेत बने। शिक्षण २०४८ सालमा छाडेपछि सापकोटा सक्रिय राजनीतिमा होमिएका हुन्। उनी २०४९ सालमा संयुक्त जनमोर्चाको केन्द्रीय सदस्य बनेका थिए।
सशस्त्र युद्ध सुरू हुँदा उनको गाउँबाट देशमै पहिलोपटक युवाहरू भूमिगत भएका थिए। सापकोटाकै गाउँमा पहिलोपटक गाउँलेहरुले प्रहरीलाई कुटेर मारेका थिए।
राजनीतिमा क्रियाशील सापकोटा २०५१ मा भएको नेकपा (एकता केन्द्र)को केन्द्रीय सदस्य, सोही वर्ष नेकपा (माओवादी)को केन्द्रीय सदस्य भएर हिंसात्मक विद्रोहमा सामेल भए। सशस्त्र द्वन्द्व अग्निप्रसादकै गाउँ कुविण्डेबाट सुरु भएको थियो। द्वन्द्व सुरु भएसँगै सापकोटा २०५२ माघबाट भूमिगत भएका थिए।
भूमिगतकालमा पूर्वी उपक्षेत्रिय व्यूरो इन्चार्जको नेतृत्व सम्हमालेका सापकोटा २०५७ मा दोस्रो राष्ट्रिय सम्मेलनबाट पोलिटव्युरो सदस्यमा चयन भएका हुन्। २०५८ सालमा भएको सरकारसँगको वार्तामा सापकोटा पनि सहभागी थिए।
जनआन्दोलनपछिको शान्तिप्रक्रियापछि २८ चैत २०६४मा भएको पहिलो संविधानसभाको निर्वाचनमा उनी सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट नेकपा (माओवादी)बाट उम्मेद्वार बनेका थिए। त्यतिबेला सापकोटा देशभरि सर्वाधिक मत ल्याउने सातौं उम्मेद्वार बनेका थिए।
निम्न आयस्रोत भएको परिवारमा जन्मिएका सापकोटा २०६८ वैशाख २२ गते नेपाल सरकारको सूचना तथा सञ्चार मन्त्रीमा नियुक्त भए। त्यसपछि २०७० मा भएको अर्को संविधानसभाको निर्वाचनमा भाग लिए। सिन्धुपाल्चोक–२ बाट दोस्रो पटक संविधान सभा सदस्यमा निर्वाचित सापकोटा तत्कालीन बागमती अञ्चलबाट तत्कालीन एकीकृत नेकपा (माओवादी) बाट विजयी एकमात्र सांसद हुन्।
२०७३ मा उनी नेपाल सरकारको वन तथा भू–संरक्षण मन्त्री बने। २०७४ मा प्रतिनिधि सभा सदस्यमा सिन्धुपाल्चोक क्षेत्र नं. १ बाट विजयी बने। यो सँगै तीनपटक संसद सदस्यमा विजयी भएर सापकोटाले ह्याट्रिक गरे।
राजनीतिक जीवनकै क्रममा २०६९ साल माघमा भएको एकीकृत नेकपा (माओवादी) को हेटौडा महाधिवेशनवाट पोलिट्व्युरो सदस्य भएका सापकोटा २०६९ साउनमा एकीकृत नेकपा (माओवादी) को स्थायी समिति सदस्य तथा पार्टीको केन्द्रीय प्रवक्ता बने।
सापकोटा २०७१ मा भएको विराटनगर सम्मेलनवाट स्थायी समिति सदस्य बनेका थिए । २०७३ मा नेकपा (माओवादी केन्द्र)को कार्यालय सदस्य भएका उनी २०७५ मा साविक एमाले र माओवादीको एकता भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति सदस्य भएका थिए।
सापकोटालाई २०६२ वैशाख १६ गते तत्कालीन माओवादीको अपहरणमा परेका काभ्रे छत्रेबाँझका अर्जुन लामाको हत्याको आरोप पनि लागेको छ। लामाको शव अपहरण भएको दुई महिनापछि काभ्रेकै साविक बुढाखानी गाविसको चारकिल्ला भन्ने ठाउँमा गाडेको अवस्थामा फेला परेको थियो।
हत्याको उक्त मुद्दा हाल सर्वोच्च अदालतको संवैधानिक इजलाशमा विचाराधिन छ।
(सिन्धुपाल्चोकका पत्रकार किशोर बुढाथोकीको सहयोगमा)