काठमाडौं- राष्ट्रिय सभाका एकतिहाई सदस्यका लागि आज (बिहीबार) मतदान हुँदैछ ।
बिहीबार बिहान १० बजेदेखि अपराह्न चार बजेसम्म मतदान हुँदैछ। निर्वाचन आयोगले प्रत्येक प्रदेशको एक स्थानमा मतदान स्थल निर्धारण गरेको छ ।
प्रदेश १ मा विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, प्रदेश २ मा जनकपुर उपमहानगरपालिकाको महेन्द्रनारायण निधि स्मृति भवन र वागमती प्रदेशमा ललितपुर महानगरपालिका–४ को वडा समिति भवनमा मतदान हुनेछ ।
त्यस्तै, गण्डकी प्रदेशमा पोखरास्थित जिल्ला निर्वाचन कार्यालय परिसर, प्रदेश ५ मा दाङ घोराहीस्थित कर्मचारी मिलन केन्द्र, कर्णाली प्रदेशमा जिल्ला निर्वाचन कार्यालय सुर्खेत परिसर र सुदूरपश्चिम प्रदेशमा दिपायलस्थित सिलगढी नगरपालिकाको पद्म पब्लिक मुक्तिनारायण उच्च माविमा मतदान स्थल तोकिएको आयोगले जनाएको छ ।
सातवटै प्रदेशबाट गरी १८ जना राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुने छन्। १८ सिटका लागि विभिन्न दलका गरी ४५ जना उम्मेदवार मैदानमा छन् । १९ सिट खाली हुन लागेकोमा एक सिटमा सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्नेछन्।
निर्वाचन हुने १८ पदमध्ये महिला समूहबाट सात, दलितबाट दुई, अपांग र अल्पसंख्यकबाट दुई र खुलातर्फ सातजना छन्।
निर्वाचनमा पाँच सय ५० प्रदेशसभा सदस्य (सातै प्रदेश) र एक हजार पाँच सय ६ स्थानीय तहका प्रमुख, उपप्रमुख गरी दुई हजार ५६ मतदाता छन्।
निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभार १८ हुनेछ।
मतदानलगत्तै राजनीतिक दलहरूको सहमतिमा मत गणना हुने र कुनै बाधा/अवरोध नआए गणना प्रारम्भ भएको एक/डेढ घण्टामा परिणाम आउने निर्वाचन आयोगले जनाएको छ ।
५९ सदस्यीय राष्ट्रिय सभामा ५६ निर्वाचित र तीनजना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने व्यवस्था छ। अहिले राष्ट्रिय सभा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ४२, प्रमुख प्रतिपक्षी दल कांग्रेसका १३, समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीका दुई/दुई जना सदस्य छन्।
प्रत्येक दुई वर्षमा एकतिहाई सदस्यहरुको पदावधि समाप्त हुने व्यवस्था अनुसार पहिलोपटक निर्वाचित सदस्यको गोलाप्रथाबाट कार्यकाल विभाजन गरिएको थियो। राष्ट्रियसभा सदस्य निर्वाचन ऐनको दफा ५५ मा सदस्यहरुको पद रिक्त हुनु ३५ दिनअघि निर्वाचन गराइसक्नुपर्ने व्यवस्था छ।