काठमाडौं - रुपन्देहीको सैनामैना सव-डिभिजन वन कार्यालयका प्रमुख र सिराहमा कार्यरत एक प्रहरी जवान घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वन कार्यालय प्रमुख पुष्पराज श्रेष्ठ र प्रहरी जवान राजकुमार यादवलाई ५/५ हजार घुस लिँदालिँदै पक्राउ गरेको हो।
अख्तियार बुटवल कार्यालयका प्रवक्ता सुरेश भुषालका अनुसार सेवाग्राहीसँग काठ उपलब्ध गराउन सिफारिसका लागि माग गरेको रकम लिँदालिँदै श्रेष्ठलाई बुटवल उपमहानगरपालिकाको नयाँ गाउँबाट नियन्त्रणमा लिइएको हो।
यस्तै इलाका प्रहरी कार्यालय सुखिपुर सिरहामा कार्यरत यादवलाई घरमा प्रयोग गरिने खाद्यान्न सामग्री ल्याउन सहज गरिदिने भन्दै लिइएको पाँच हजार घुससहित सुखिपुर नगरपालिका-१० दहिपौडीचोकबाट नियन्त्रणमा लिई अनुसन्धान थालिएको अख्तियारले जनाएको छ।