काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद अझै सल्टिएको छैन। पार्टी महाधिवेशनको मिति र भ्रातृ संगठनहरुमा भागवण्डाको विषयमा कांग्रेसभित्र गुटगत विवाद बढेको हो।
विवाद मिलाउन पार्टी सभापति शेरबहादुर देउवाले पटक–पटक प्रयास गरे पनि असन्तुष्ट पक्ष सहमतिमा आएको छैन। पछिल्लो पटक सभापति देउवाले विवाद मिलाउन आफ्ना पक्षका नेता विमलेन्द्र निधिलाई खटाएका छन्। निधिले वार्ता अगाडि बढाए पनि ठोस सहमति जुटाउन भने सकेका छैनन्।
आफ्नो पक्षका नेताहरुले सहमति जुटाउन नसकेपछि देउवा स्वयंले विवाद समाधानका लागि अग्रसरता देखाएका छन्। यसका लागि उनले आज (बुधबार) दिउँसो ३ बजे शीर्ष नेताको बैठक डाकेका छन्।
सभापति देउवाको सचिवालयका अनुसार देउवा निवास बूढानीलकण्ठमा नेताहरुलाई छलफलका लागि बोलाइएको छ। बैठकमा देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, महामन्त्री पूर्णबहादुर खड्का, प्रकाशमान सिंहलगायत सहभागी हुने बताइएको छ।
केन्द्रीय समितिबाट सभापति देउवाले एकलौटी निर्णय गराएको भन्दै पौडेल र सिटौला समूहले विरोध जनाउँदै आएको छ।