जनकपुरधाम– सउदी अरेबियामा मृत्युदण्डको सजाय सुनाइएका धनुषाका उमेश यादव नेपाल फर्केका छन्।
सउदीमा एक पाकिस्तानी नागरिकको हत्या गरेको आरोपमा उमेशलाई त्यहाँको अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो।
उमेशमाथि सन् २००६ मा सँगै काम गर्ने पाकिस्तानी नागरिक मोहम्मद लतिफ वसिरको हत्या गरेको आरोप लागेको थियो।
अदालतले १५ अप्रिल २०१८ मा सुनाएको फैसलामा उनको घाँटी काटेर २४ घण्टा भुण्ड्याउने उल्लेख थियो ।
उमेशलाई मृत्युदण्डको सजाय सुनाइएको खबर सार्वजनिक भएलगत्तै धनुषका युवा सरोज रायले उनको जीवनरक्षाका लागि पहल सुरु गरेका थिए।
रायले उमेशलाई नेपाल फर्काउन दुई वर्षदेखि ‘ब्लडमनी’ (मृतकका परिवारलाई क्षतिपूर्तिस्वरुप उपलब्ध गराइने रकम) संकलनको अभियान थालेका थिए।
उनले परराष्ट्र मन्त्रालय र दूतावासको सहयोगमा मृतक पाकिस्तानी नागरिकको घरसम्म पुगेर यादवलाई माफ गरिदिन उनका परिवारसँग आग्रह गरेका थिए।
अन्तिममा ३० लाख पाकिस्तानी रुपैयाँ ब्लडमनी पाएपछि उमेशलाई माफ गर्न मृतकका परिवार सकारात्मक भए।
मृतक परिवारलाई रायले ब्लडमनी बुझाएपछि सउदीको अदालतले यादवलाई रिहा गरेको हो।
धनुषाको कमला नगरपालिका–३ घर भएका उमेश सन् २००६ मा रोजगारीका लागि सउदी पुगेका थिए ।
बुधबार बिहान काठमाडौं आइपुगेका उमेशलाई रायले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्।