बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मदिरा सेवन गरेका पर्यटक अबेर राति ग्यास हिटर बालेर सुतेका थिए, बिहान सबैको ज्यान गयो

मदिरा सेवन गरेका पर्यटक अबेर राति ग्यास हिटर बालेर सुतेका थिए, बिहान सबैको ज्यान गयो

ग्यास हिटर बालेर सुतेका उनीहरु मंगलबार बिहान बेहोस भेटिए। उनीहरुलाई दुई लटमा हेलिकोप्टरमा हालेर काठमाडौं ल्याइयो तर, त्यतिबेलासम्म ढिलो भइसकेको थियो। प्रहरी स्रोतका अनुसार अस्पताल ल्याइ नपुग्दै उनीहरुको ज्यान गइसकेको थियो।
 |  मंगलबार, माघ ७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ७, २०७६

काठमाडौं– मकवानपुरको दामनमा रहेको एभरेष्ट पानोरमा रिसोर्टको कोठामा निस्सासिएर मृत्यु भएका ८ जना भारतीय पर्यटक अबेर राति त्यहाँ पुगेका थिए। पोखराबाट राति १० बजेतिर रिसोर्टमा पुगेका १५ जनामध्ये ८ जना एउटै कोठामा सुतेका थिए।

ग्यास हिटर बालेर सुतेका उनीहरु मंगलबार बिहान बेहोस भेटिए। उनीहरुलाई दुई लटमा हेलिकोप्टरमा हालेर काठमाडौं ल्याइयो तर, त्यतिबेलासम्म ढिलो भइसकेको थियो। प्रहरी स्रोतका अनुसार अस्पताल ल्याइ नपुग्दै उनीहरुको ज्यान गइसकेको थियो।

एभरेष्ट पानोरमा रिसोर्टका एक कर्मचारीका अनुसार राति अबेरसम्मै जागा बसेका उनीहरुले करिब १ बजेतिर जाडो भयो भन्दै रिसेप्सनबाट ग्यास हिटर मागेर लगेका थिए।

‘निकै जाडो भयो भन्दै मध्यरातमा रिसेप्सनमा आएर हिटर माग्नुभयो। उहाँहरुले धेरै ड्रिंक्स पनि गरेका कारण हामीले हिटर दिन मानेका थिएनौं। जबरजस्ती नै गरेपछि हामीले ग्यास हिटर दिएका थियौं। बिहान त सबै बेहोस भेटिए,’ रिसोर्टका एक कर्मचारीले भने ।

भारतको केरलबाट हवाईजहाजमार्फत् काठमाडौं आएको १५ जनाको टोली पोखरा घुमघामपछि मकवानपुरको दामन, पालुङ तथा चित्लाङ क्षेत्रमा घुम्न भनेर बस रिजर्भ गरेर आएका थिए। बा ३ क ३७८८ नम्बरको बसमा हेटौंडा हुँदै राति अबेर दामनको रिसोर्टमा बासको लागि पुगेका थिए। उनीहरुले होटलमा खानासँगै मदिरासमेत सेवन गरेको रिसोर्ट कर्मचारीले बताए।

उनीहरुले होटलमा तीनवटा कोठा बुकिङ गरे पनि दुईवटा कोठामात्र प्रयोग गरेका थिए। जाडो भएको भन्दै उनीहरु दुईवटा कोठामा कोचिएर सुतेका थिए। उनीहरु एउटामा ८ जना र एउटामा ७ जनाका दरले सुतेको रिसोर्टले जनाएको छ। हिटर बालेर झ्यालढोका बन्द गरी सुत्दा उनीहरुको मृत्यु भएको प्रहरीको अनुमान छ।

हिटर नबाली सुतेका ७ जना भने सकुशल छन्। घटनापछि उनीहरु काठमाडौं फर्किएका छन्। घटनापछि मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टलगायत सुरक्षा निकायका प्रमुखहरु दामनस्थित रिसोर्टमा पुगेका थिए ।

हिटर बालेर सुत्नु जोखिमपूर्ण

जाडो महिनामा कोठा न्यानो बनाउन बालिने हिटर जोखिमपूर्ण हुने चिकित्सकहरुले बताउँदै आएका छन्। हिटर बालेर झ्यालढोकासमेत बन्द गर्दा जोखिम झन् बढ्छ। हिटरको तातोका कारण उत्पन्न हुने कार्बन मोनोअक्साइड नामको विषाक्त ग्यासले रगतमा रहेको हेमोग्लोबिनबाट अक्सिजनलाई हटाइदिन्छ, जसका कारण कोषमा हुने आन्तरिक श्वासप्रश्वास प्रक्रिया बन्द हुन जान्छ र मानिस बेहोस हुन्छ।

आगो बालेर बन्द गरिएको कोठामा शुद्ध हावाको प्रसार हुन पाउँदैन र कोठाभित्र अक्सिजन कम हुँदै जान्छ। चिकित्सकहरुका अनुसार अक्सिजन कम हुनेबित्तिकै कार्बनको एक परमाणुले अक्सिजनको दुई भाग परमाणु लिएर रासायनिक प्रतिक्रिया सुरु गर्छ र कार्बन मोनोअक्साइड ग्यास बनाउँछ।

हेमोग्लोबिनमा अक्सिजनको मात्रा कम हुँदै गएमा चक्कर लाग्ने, वाकवाक लाग्ने, मन्द टाउको दुख्ने, कमजोरीपन, उल्टी हुने, आँखा धमिलो हुँदै जाने, छिटोछिटो श्वासको गति बढ्ने, मुटुको धड्कन बढ्दै जाने, ज्यान काम्न थाल्ने र बेहोस हुने हुन्छ। समयमै उपचार नपाए मानिसको मृत्युसमेत हुन्छ।

प्रकाशित: Jan 21, 2020| 19:52 मंगलबार, माघ ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।