काठमाडौं - कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी कमल बिकलाई प्रहरीले पक्राउ गरेको छ। बिक महानगरीय अपराध महाशाखाको टोलीले गोंगबुस्थित गणेशस्थानबाट पक्राउ गरेको हो।
विसं २०७१ पुस ३० गते धादिङ घर भइ काठमाडौंको गोलढुङ्गा बस्ने युरुङ तामाङलाई ढुंगाले टाउकोमा प्रहार गरी फरार रहेका बिकलाई उच्च अदालत पाटनले २०७२ असार २२ गते १० वर्षको कैद फैसला सुनाएको थियो।
बिकलाई आवश्यक कारबाहीका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ।
यस्तै गाँजा/चरेश मुद्दाका फरार प्रतिवादीलाईसमेत पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ। पर्साको सखुवाप्रसौनी गाउँपालिका २ का प्रभु सहनीलाई पर्सा जिल्ला अदालतले ७ महिना १७ दिन कैद र पाँच हजार जरिवाना तोकेपनि उनी फरार रहँदै आएका थिए। उनलाई गाउँमै लुकेर बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि जिल्ला अदालतमा पेश गरेको छ।