काठमाडौं- नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका नेता गुणराज लोहनी चितवनबाट पुनः पक्राउ परेका छन्।
प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालको ठाडो निर्देशनमा उनलाई सोमबार बेलुका प्रहरीको विषेश व्युरोले पक्राउ गरेको हो ।
लोहोनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी एकनारायण कोइरालाले पुष्टि गरे । उनले नेपाल समयसँग टेलिफोनमा भने– 'चन्दा असुलिमा सक्रिय रहेको खबर प्राप्त भएपछि हामीले पक्राउ गरेका हौ ।'
लोहोनीमाथि अनुसन्धान भइरहेको उनले जानकारी दिए । स्रोतका अनुसार चन्दा उठाएको खबर आएको भन्दै प्रहरी महानिरिक्षक खनालले पक्राउ गर्न विशेष ब्युरोलाई ठाडो निर्देशन दिएका थिए ।
लोहनी यस अघि पनि चितवनबाट नै पक्राउ परेका थिए । करिब एकमहिना भन्दा लामो समय प्रहरी हिरासतमा रहेका उनी दिर्घरोगी रहेको भन्दै सामान्य तारेखमा छुटेका थिए। अस्वस्थ रहेकै कारण लोहनीले पार्टीको केन्द्रीय सदस्यबाट राजीनामा दिएका थिए।