काठमाडौं– आगामी बिहीबार हुन लागेको राष्ट्रियसभा निर्वाचनको मौन अवधि सुरु भएको छ।
सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको निर्वाचन आयोगले जनाएको छ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले मतदान सुरु हुनुभन्दा ४८ घन्टा अघिदेखि (सोमबार राति १२ बजेदेखि) मौन अवधि सुरु भएको बताए।
आयोगले मौन अवधिमा आफ्ना वेबसाइट, ट्विटर, फेसबुक, भाइबर, एसएमएसजस्ता सामाजिक सञ्जाल र विद्युतीय माध्यम प्रयोग गरी प्रचार–प्रसार नगर्न र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न राजनीतिक दल, उम्मेदवार र सरोकारवालासँग आग्रह गरेको छ।
आगामी फागुन २० गते रिक्त हुन लागेका राष्ट्रियसभाका एकतिहाइ (१९) सदस्यमध्ये १८ का लागि निर्वाचन हुन लागेको हो। जसअन्तर्गत प्रदेश १ मा महिला, दलित र अन्य समूह गरी तीन, प्रदेश २ मा महिला, दलित र अपांगता वा अल्पसंख्यक भएका र अन्य समूह गरी चार, बागमती प्रदेशमा महिला र अन्य समूह गरी दुई, गण्डकी प्रदेशमा महिला र अन्य समूह गरी दुई, प्रदेश ५ मा महिला, अपांगता वा अल्पसंख्यक भएका समुदाय र अन्य गरी तीन, कर्णाली प्रदेशमा महिला र अन्य समूह गरी दुई र सुुदूरपश्चिम प्रदेशमा महिला र अन्य समूहका दुई जना गरी १८ सदस्यका लागि निर्वाचन हुँदैछ।
१ सदस्य भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्नेछिन्।
निर्वाचनमा विभिन्न राजनीतिक दलका ४५ जना उम्मेदवार छन्। निर्वाचनमा दुई हजार ५६ मतदाता छन्, जसमा प्रदेशसभा सदस्य ५ सय ५० र स्थानीय तहका सदस्य १ हजार ५ सय ६ छन्।
प्रत्येक दुई वर्षमा राष्ट्रियसभाको एकतिहाइ सदस्यको पद रिक्त हुने व्यवस्था छ।