मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सभामुख अभियोगरहित हुनुपर्छ: नागरिक अगुवाहरु (अपिलको पूर्ण पाठसहित)

सभामुख अभियोगरहित हुनुपर्छ: नागरिक अगुवाहरु (अपिलको पूर्ण पाठसहित)

नागरिक अगुवाहरुले सभामुख पद चार महिनासम्म खाली रहनु गम्भीर चिन्ताको विषय भनेका छन्।
 |  बिहीबार, माघ २, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २, २०७६

नागरिक अगुवाहरुले सभामुख पद चार महिनासम्म खाली रहनु गम्भीर चिन्ताको विषय भनेका छन्।

१७ नागरिक अगुवाले ३ माघमा जारी गरेको अपिलमा भनिएको छ, ‘प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवार बन्न चाहने संसद सदस्य संविधान अनुसार उच्च नैतिक चरित्रवान हुनुका साथै सक्षम, जनस्तरले समेत कुनै गुनासो नगरेको तथा कुनै कानुनले अयोग्य नभएको, अभियोगरहित एवम् प्रतिनिधि सभालाई कुशल नेतृत्वका साथ अगाडि बढाउन सक्ने भनी नेपाली नागरिकले समेत विश्वास गर्न सक्ने हुनुपर्छ।’

त्यस्तै सभामुखको निर्वाचन प्रक्रिया अघि नबढेका बेला उपसभामुखले राजीनामा गर्नु उपयुक्त नहुने भन्दै अहिले उपसभामुखलाई प्रोत्साहित गर्नु पर्ने आवश्यकता रहेको पनि उनीहरुले औंल्याएका छन् ।

अपिलको पूर्णपाठ

संसद–गतिरोध तथा संविधान संशोधन सम्बन्धमा
नागरिक अपिल

०३ माघ २०७६

संघीय संसदको प्रतिनिधि सभामा नयाँ सभामुखको निर्वाचनलाई लिएर गतिरोध उत्पन्न भएको छ । यसैबीचमा संविधानको मर्म विपरीत हुनेगरी अनिर्वाचित व्यक्तिलाई देशको कार्यकारी बन्ने बाटो खोल्न राजनीतिक वृत्तले संविधान संशोधनसमेत चर्चामा ल्याएको छ । यस सम्बन्धमा चासो र चिन्ता व्यक्त गर्दै नेपाल सरकार, सत्तारुढ र प्रमुख प्रतिपक्षसहितका दलहरु तथा संसदमा सार्वभौमसत्ता सम्पन्न नेपाली नागरिकको प्रतिनिधित्व गरिरहेका सबै संसद सदस्यहरुलाई हामी तल उल्लिखित सत्र जना नागरिकहरु निम्नानुसार अपिल गर्दछौं:

१. कानुन निर्माण, नीति तथा कार्यक्रम एवम् देशका मुख्य मुद्दाहरूमा छलफल गरी निर्णय लिने तथा नागरिकको आवाज दैनिक रुपमा प्रस्तुत हुने सार्वभौम संघीय संसदमा प्रतिनिधिसभाको नेतृत्व गर्ने सभामुख पद चार महिनासम्म खाली रहनु गम्भीर चिन्ताको विषय हो ।

२. नयाँ सभामुखको निर्वाचनलाई लिएर प्रतिनिधि सभाको काम कार्यवाहीमा गतिरोध उत्पन्न भएको हुनाले सूचना टाँसेर पूर्वनिर्धारित बैठकहरु स्थगित भैरहेका छन् । सम्माननीय राष्ट्रपतिले संसद्को बैठक आह्वान गरेपछिको एक महिना भइसक्दा पनि प्रतिनिधि सभाको बैठक औपचारिकताका लागि मात्र बस्न सकेको छ । यस अवस्थाको तत्काल निकास खोज्न प्रतिनिधिसभामा सबैको अग्रसरता आवश्यक छ र सबै संसद सदस्यले यस विषयमा क्रियाशीलता देखाउनु पर्दछ । सूचना प्रकाशित गरी संसद्को बैठक लगातार स्थगित गर्ने कार्य संसदीय अभ्यासको बिपरीत तथा सार्वभौम जनताप्रति अनुत्तरदायी हुन जान्छ । अब उप्रान्त यस्तो कार्य दोहोरिनु हुँदैन र आगामी माघ ६ गते बोलाइएको प्रतिनिधि सभाको बैठक सुचारु हुनुपर्दछ भन्ने हाम्रो दृढ मान्यता रहेको छ ।

३. प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवार बन्न चाहने संसद सदस्य संविधान अनुसार उच्च नैतिक चरित्रवान हुनुका साथै सक्षम, जनस्तरले समेत कुनै गुनासो नगरेको तथा कुनै कानुनले अयोग्य नभएको, अभियोगरहित एवम् प्रतिनिधि सभालाई कुशल नेतृत्वका साथ अगाडि बढाउन सक्ने भनी नेपाली नागरिकले समेत विश्वास गर्न सक्ने हुनुपर्छ । कुनैपनि दलले सभामुख पदका लागि उम्मेदवार अघि नसारेको वर्तमान परिस्थितिमा उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा गर्दा प्रतिनिधि सभाको अध्यक्षता गर्ने कार्यमा रिक्तता आउने अवस्थाप्रति समेत सबैको ध्यान आकृष्ट गर्दछौं ।

४. संविधान देशको मूल कानुन हो । यसको संशोधन गर्दा राजनीतिक नाफा नोक्सानको उद्देश्य वा केवल दलगत कारण देखिंदा आम जनतामा नवस्थापित संसदीय गणतान्त्रिक व्यवस्थाप्रति नै विकर्षण हुने खतरा आउँछ । अनिर्वाचित व्यक्तिलाई देशको सर्वोच्च कार्यकारी नेतृत्व दिनेगरी गरिने संविधान संशोधनउपर हाम्रो गम्भीर आपत्ति रहेको छ । संविधानको संशोधनका विषयमा हुने कुनैपनि छलफल खुलारुपमा नागरिक स्तरमा तथा संसदका दुवै सदनमा व्यापक रुपले हुने वातावरण सिर्जना गर्न नेपाल सरकारलाई आह्वान गर्दछौं ।

५.संविधानको संरक्षण गर्ने दायित्व नेपालको संविधानले राष्ट्रपतिलाई सुम्पेको छ । यो संवैधानिक दायित्व पूरा गर्ने क्रममा राष्ट्रपतिद्वारा प्रतिनिधिसभाको गतिरोध अन्त्य गर्न प्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेता, संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरू तथा सभामुखको रिक्तताको अवस्थामा प्रतिनिधि सभाको अध्यक्षता गर्ने उपसभामुख समेतलाई प्रोत्साहित गर्नु आवश्यक देखेका छौं ।

६. संवैधानिक सर्वोच्चता, विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा कानुनको शासन लोकतन्त्रका जीवन्त आधारस्तम्भ भएकाले यी मूल्य र मान्यता विपरीतका कामकारवाहीहरु निरन्तर नागरिक निगरानीमा रहनुपर्दछ । त्यसैले, सबै नागरिकलाई संसद्को विद्यमान गतिरोधप्रति चासो प्रकट गर्न तथा दलीय नेतृत्वको ध्यानाकर्षण गरिरहन अपिल गर्दछौं ।


हस्ताक्षरकर्ताः
१. श्री सूर्यप्रसाद श्रेष्ठ, पूर्व प्रमुख आयुक्त, निर्वाचन आयोग

२. डा. गौरीशंकर लाल दास, पूर्व आयुक्त, राष्ट्रिय मानव अधिकार आयोग

३. प्रा. गणेशमान गुरुङ्ग, संविधानसभा सदस्य

४. डा. सूर्य ढुंगेल, संविधानविद, पूर्व राष्ट्रपति रामवरण यादवका संवैधानिक सल्लाहकार

५. डा. पूर्णमान शाक्य, संविधानविद

६. डा. विपिन अधिकारी, संविधानविद

७. डा. सुमित्रा मानन्धर, समाजशास्त्री

८. श्री टीकाराम भट्टराई, संविधानविद

९. प्रा.सरोज धिताल, चिकित्सक

१०. डा. डम्बर चेम्जोङ्ग, समाजशास्त्री

११. श्री सुलोचना मानन्धर, लेखक

१२. श्री दिनेश त्रिपाठी, संविधानविद

१३. श्री धर्मेन्द्र झा, पूर्व सभापति, नेपाल पत्रकार महासंघ

१४. श्री कनकमणि दीक्षित, लेखक/पत्रकार

१५. श्री टीका ढकाल, लेखक/राजनीतिशास्त्री

१६. श्री सुनिलरन्जन सिंह, अधिवक्ता

१७. श्री फूर्पा तामाङ्ग, अधिवक्ता

प्रकाशित: Jan 16, 2020| 20:17 बिहीबार, माघ २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।