काठमाडौं- सुदूर पश्चिम र कर्णाली प्रदेशमा पछिल्लो पटक करिब ४ हजार छाउगोठ भत्काएको नेपाल प्रहरीले अब छाउ प्रथा बारेको गलत मानसिकता भत्काउने अभियान सञ्चालन गर्ने भएको छ।
छाउपडी कुप्रथाका कारण महिलाहरुले अनाहकमा ज्यान गुमाउने क्रम नरोकिएपछि दुईवटै प्रदेशमा छाउगोठ भत्काउने अभियान थालेको प्रहरीले निकट भविस्यमै छाउ प्रथाबारे गलत मानसिकता बदल्ने अभियान सञ्चालन गर्न लागेको होे।
पुस ९ गतेबाट छाउगोठ भत्काउने अभियान थालेको प्रहरीले बिहीबारसम्म सुदूरपश्चिममा २ हजार ५ सय ७१ र कर्णाली प्रदेशमा १ हजार ४ सय २२ वटा छाउगोठ भत्काएको प्रवक्ता डिआइजी शैलेश थापा क्षेत्रीले जानकारी दिए।
‘पहिलो चरणमा छाउगोठ भत्काउने काम भयो भने अब छाउ प्रथाका बारेमा जनमानसमा रहेको गलत मानसिकता भत्काउने अभियान सञ्चालन हुन्छ’ थापाले भने, ‘गोठ मात्र भत्काएर छाउपडीविरुद्धको अभियान सफल हुँदैन।’
थापाकाअनुसार दोस्रो चरणको अभियान अन्र्तगत समुदाय, विद्यालयलगायतका स्थानमा छाउ प्रथाबारे सचेतना फैलाउने कार्यक्रम संचालन हुनेछन्। १ सय दिन चल्ने अभियानमा जो–जो छाउप्रथा बार्न बाध्य पार्छन तिनीहरुलाई सम्झाउने थापाले बताए।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत नै संचालन हुने अभियानमा प्रहरीका साथसाथै जनप्रतिनिधि र अन्य सरोकारवालाहरु पनि परिचालन हुनेछन्।
छाउ प्रथाबारे गलत मानसिकता भत्काउने अभियानको सुरुवात गर्न गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल केही दिनमै सुदूर पश्चिम र कर्णाली प्रदेशका जिल्लामा जाने कार्यक्रम प्रहरीले तय गरेको छ।
पछिल्लो समय अछामको साँफेगर नगरपालिका–३ मा एक महिलाको छाउपडी गोठमा ज्यान गएपछि गृहमन्त्रालयको निर्देशनमा प्रहरीले गोठ भत्काउने अभियान सुरु गरेको हो।
सुदूर पश्चिम र कर्णाली अञ्चलका जिल्लामा व्याप्त रहेको छाउपडी कुप्रथाका कारणले थुप्रै महिलाले अकालमै ज्यान गुमाइसकेका छन्।