मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ६ महिनाको पुँजीगत खर्च १३ प्रतिशतमात्र, राजस्वमा पनि झट्का

६ महिनाको पुँजीगत खर्च १३ प्रतिशतमात्र, राजस्वमा पनि झट्का

चालू आर्थिक वर्षको ६ महिना बितिसक्दा पनि सरकारको पुँजीगत खर्च बढ्न सकेको छैन ।
 |  बुधबार, माघ १, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ १, २०७६

काठमाडौं– चालू आर्थिक वर्षको ६ महिना बितिसक्दा पनि सरकारको पुँजीगत खर्च बढ्न सकेको छैन । सरकारले ६ महिनामा १३.७२ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । गत वर्षको सोही अवधिमा पुँजीगत खर्च १७.७ प्रतिशत थियो ।

संघीयता कार्यान्वयनसँगै पुँजीगत खर्चमा वृद्धि हुने अपेक्षा गरिएको भए पनि यस्तो खर्च बढ्न सकेको छैन । अर्थ मन्त्रालयले भने पुँजीगत खर्च बढेको तर सरकारले रकम ढिला गरी सम्बन्धित आयोजनाहरुलाई पठाउने भएकोले सिस्टममा नदेखिएको दाबी गरेको छ ।

पहिले असार मसान्तमा बजेट आउदा पुँजीगत खर्च कम भई विकास निर्माणका काममा सुस्तता आएको भन्दै सरकारले जेठ १५ गते नै बजेट ल्याउने र साउनसम्ममा सम्पूर्ण आन्तरिक प्रक्रिया सकेर टेन्डर आह्वान गरी काम थाल्ने व्यवस्था गरेको थियो । तरपनि पुँजीगत खर्च अपेक्षाकृत रुपमा बढ्न सकेको छैन ।

आर्थिक वर्षको पहिलो ६ महिनामा राजस्व संकलन पनि लक्ष्यभन्दा कम भएको छ । यो अवधिमा ३८.९५ प्रतिशतमात्र राजस्व उठेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारले पहिलो ६ महिनामा ४ खर्ब ३३ अर्ब रुपैयाँ राजस्व उठाउन सफल भएको छ । लक्ष्य भने ५ खर्ब ३७ अर्ब थियो ।

पछिल्लो समय आयातमा कमी आएपछि त्यसको असर राजस्व संकलनमा परेको हो । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा ४.२४ प्रतिशतले आयात घटेको छ । गत आर्थिक वर्षको सोही अवधिमा आयात ३४.२४ प्रतिशतले बढेको थियो । आयातमा आएको गिरावट नै राजस्व संकलनमा कमी आउने मुख्य कारण रहेको अर्थ मन्त्रालयको दाबी छ । नेपालको अर्थतन्त्र आयातमा निर्भर छ ।

यही गतिमा राजस्व संकलन हुने हो भने सरकारले राजस्व लक्ष्य पूरा गर्न नसक्ने पूर्व अर्थसचिव शान्तराज सुवेदीले बताए । सरकारले चालू आवमा ९ खर्ब ८१ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेको छ।

प्रकाशित: Jan 15, 2020| 13:27 बुधबार, माघ १, २०७६
प्रतिक्रिया दिनुहोस्