मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • दोस्रो बिग मर्जरको तयारी, तीन वाणिज्‍य बैंकसँग इन्भेष्‍टमेन्‍टको छलफल

दोस्रो बिग मर्जरको तयारी, तीन वाणिज्‍य बैंकसँग इन्भेष्‍टमेन्‍टको छलफल

नेपाल इन्भेष्टमेन्ट बैंक पनि बिग मर्जरमा जाने भएको छ।
 |  सोमबार, पुस २८, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस २८, २०७६

काठमाडौं– नेपाल इन्भेष्टमेन्ट बैंक पनि बिग मर्जरमा जाने भएको छ। सोमबार बैंकको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले बिग मर्जरमा नगई सुखै नपाइने स्पष्ट पारे।

उनले भने, ‘अहिलेको जस्तो अवस्थामा बैंकले पहिलेको जस्तो लाभांश दिन सक्दैनन् किनकि धेरै ठूलो प्रतिष्पर्धा भइरहेको छ। खर्चले पनि धान्दैन मर्जरमा जानुको विकल्प छैन।’

उनले नेपाल राष्ट्र बैंकले दिएको सुझाव र बैंकको बाध्यताका कारण पनि बिग मर्जरमा जानुपर्ने बाध्यता रहेको बताए। बैंकले हाल तीनवटा ठूला बैंकसँग मर्जरको लागि कुरा अघि बढाएको बताइएको छ । तर, राष्ट्र बैंकले भने हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकलाई मर्जका लागि दबाब दिइरहेको स्रोतको भनाइ छ।

हाल बैंकले एक अर्ब रुपैयाँ प्रोभिजनिङको लागि छुट्याएको छ। पछिल्लो समय बैंकिङ क्षेत्रमा नयाँ नयाँ आधुनिक प्रविधिहरु आइरहेको र आइटी क्षेत्रमा ठूलो रकम खर्च गर्नुपर्ने भएकोले पनि मर्जरमा जानुपर्ने भएको पाण्डेले तर्क दिए। मर्जरमा गए आफूलाई अध्यक्ष नचाहिने पनि उनले साधारणसभामा स्पष्ट पारे ।

सोमबार बसेको बैंकको साधारणसभाले ८ प्रतिशत नगद र १० प्रतिशत बोनस गरी १८ प्रतिशत लाभांश पारित गरेको छ। साधारणसभाले मर्जरको लागि आवश्यक प्रकृया अगाडि बढाई निर्णय गर्न सञ्चालक समितिलाई पूर्ण अधिकार दिएको छ । सोमबार नै बैंकले नेपाल एक्सप्रेस फाइनान्सलाई गाभ्ने निर्णय पनि गरेको छ । यसअघि बैंकले एस डेभलपमेन्ट बैंक र जेबिल्स फाइनान्सलाई गाभिसकेको छ।

नेपाल राष्ट्र बैंकले बिग मर्जरको नीति ल्याएपछि गत महिनामात्र ग्लोबल आइएमई र जनता बैंक एकआपसमा गाभिएका थिए।

प्रकाशित: Jan 13, 2020| 18:02 सोमबार, पुस २८, २०७६
प्रतिक्रिया दिनुहोस्