काठमाडौं- सोमबार सेयर बजार परिसूचक १५.१४ अंकले उकालो लागेको छ। नेप्से हरियो भएसँगै कारोबार पनि उकालो लागेको छ।
सोमबार दिनभर एक अर्ब ७० करोड रुपैयाँको सेयर खरिद बिक्री भएको नेप्सेले जनाएको छ।
‘पछिल्लो चरणमा सेयर बजार बढ्नुपर्ने खास कारण भने छैन। नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति भएको छ, त्यस्तै सरकारले ओभरड्राफ्टमा भन्दा पनि अनुत्पादक भन्दै अटो र घर कर्जामा केही कडाई गर्यो जसको सकारात्मक असर सेयर बजारमा परेको देखिन्छ।’ सेयर बजार विश्लेषक अनलराज भट्टाईले भने।
उनका अनुसार पछिल्लो समयमा बैंकहरुबाट कर्जा विस्तार भएको छैन,उनीहरुसँग प्रसस्त तरलता छ,जसका कारण व्याजदर कम हुँदै गएको पनि छ, भने सरकार पनि सेयर बजारप्रति सकारात्मक देखिएको छ त्यसको असर पनि सेयर बजारमा परेको हो।
बजारमा पछिल्लो समयमा सेयर खरिद तथा बिक्रिमा केही विविधता आएको छ, एउटै कम्पनीको भन्दो विविध कम्पनीमा लगानी गर्नेहरुको बाहुल्यता बढेको छ, यसबाट भने बजार केही समय उकालो लाग्न सक्ने सम्भावना छ।
सोमबार सबैभन्दा धेरै नेपाल टेलिकमको छ करोड चार लाख रुपैयाँको सेयर कारोबार भएको छ। त्यस्तै दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ५ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ।
यसदिन सबैभन्दा बढी घोडाघोडी लघुवित्त र सानिमा माइ हाइड्रोपावरको सेयर मूल्य बढेर सर्किट नै लागेको थियो। सोमबार सबैभन्दा बढी कमाउनेमा घोडाघोडी लघुवित्त, सानिमा माई हाइड्रोपावर, चिलिमे हाइड्रो पावर र राधी जलविद्युत कम्पनी रहेका छन्।
त्यस्तै यसदिन गुमाउनेमा सिभिल लघुवित्त वित्तिय संस्था,गनपति माईक्रो फाइनान्स विजयलक्ष्मी वित्तिय संस्था लगायतका रहेका छन्।
सोमबार १८३ कम्पनीमा १०६ वटाको मूल्य बढेको छ भने ५० वटा कम्पनीको मूल्य घटेको छ।