मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • साना तथा घरेलु उद्योगको लागि प्रविधि सहयोग आवश्यकः अर्थमन्त्री

साना तथा घरेलु उद्योगको लागि प्रविधि सहयोग आवश्यकः अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको विकास र समृद्धिका लागि साना तथा लघु, घरेलु उद्योग क्षेत्रमा पनि समावेशी लगानी आवश्यक रहेको बताएका छन् ।
 |  सोमबार, पुस २८, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस २८, २०७६

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको विकास र समृद्धिका लागि साना तथा लघु, घरेलु उद्योग क्षेत्रमा पनि समावेशी लगानी आवश्यक रहेको बताएका छन् ।

समृद्धि फाउण्डेशन र मेनोनाइट आर्थिक विकास एसोसिएट्स (मेडा) द्वारा सोमबार राजधानीमा आयोजित ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि विकासका माध्यमः मिश्रित अर्थव्यवस्था र लैंगिकमैत्री लगानी’ विषयक कार्यशाला गोष्ठीको उद्घाटन गर्दै मन्त्री खतिवडाले अर्थतन्त्रमा ठूलो योगदान पुर्याउँदै आएका साना तथा घरेलु उद्योगहरुको प्रवर्द्धनका लागि यस्ता उद्योगहरुको उत्पादन लागत घटाउन प्रविधि सहयोग आवश्यक रहेको बताए।

मुलुकमा सञ्चालित साना तथा मझौला उद्योगहरुले उत्पादक र उद्यमी नागरिक निर्माणका लागि पूर्वाधार विकासमा सघाउने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले बेरोजगारी समस्या समाधान र कृषिजन्य उत्पादनको उचित उपयोग गर्ने माध्यम भनेकै साना उद्योग भएको बताए ।

साना, घरेलु तथा मझौला उद्योगहरुमा लगानी बढाउन बैंक तथा वित्तीय संस्थालाई सुझाव दिँदै उनले भने, ‘अहिले बैंकबाट ठूला उद्योगमा तथा सहकारीबाट साना व्यवसायमा लगानी भएको अवस्था छ, उद्योग क्षेत्रको समावेशी विकासका लागि यसमा सुधार गरी घरेलु तथा मझौला उद्योग व्यवसायमा सरल र सहजरूपमा कर्जा प्रवाह गर्न वित्तीय संस्थाले ध्यान पुर्याउनुपर्छ ।’

सरोकारवालाबीच पर्याप्त छलफल नभई अघि बढाइएका विकासका आयोजनाप्रति नागरिकबाट प्रश्न उठ्ने सम्भावना रहने भन्दै उनले समावेशी विकासका माध्यमबाट मात्रै आर्थिक समृद्धि हासिल गर्नुपर्छ भनेर सरकारले त्यसैअनुरूपको नीति तर्जुमा गरेको दावी गरे ।

नेपालको सहकारीलगायत वित्तीय क्षेत्रमा महिलाको सहभागिता उत्साहजनक नै रहेको उल्लेख गर्दै उनले नयाँ प्रविधिको प्रयोगमार्फत आफ्ना उत्पादनलाई गुणस्तरीय बनाउनेतर्फ महिला उद्यमीले ध्यान पुर्याउनुपर्ने बताए ।

समृद्धि फाउण्डेशनले विकासका अभ्यासकर्ता र वाणिज्य क्षेत्रका लगानीकर्ताको सहकार्यमा विकास र समृद्धिका लागि बाधकका रूपमा देखिएको लैङ्गिक असन्तुलनलाई न्यूनीकरण गर्दै अघि बढने प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरेको सो कार्यक्रम मङ्गलबारसम्म चल्नेछ ।

प्रकाशित: Jan 13, 2020| 14:58 सोमबार, पुस २८, २०७६
प्रतिक्रिया दिनुहोस्