धनगढी– नेपाल भ्रमण वर्ष २०२० सुरु भए पनि कैलालीको पूर्वी क्षेत्रका स्थानीय तहले पर्यटन लक्षित कुनै योजना तयार पार्न सकेका छैनन्।
कैलालीको भजनी नगरपालिलले भ्रमण वर्ष लक्षित कुनै योजना बनाएको छैन। न त नगरपालिकाले पर्यटन क्षेत्रको विकासका लागि बजेट छुट्याएको छ। नगपालिकाभित्र थुप्रै पर्यटकीय सम्भावना बोकेका क्षेत्र छन्। विश्वको दुर्लभ जलचर प्राणी डल्फिन क्षेत्र भजनी नगरपालिकामा पर्छ।
स्थानीय अर्जुन खत्रीले नगपालिकाभित्र लौकाहा–भौकाहा ताललगायत थुप्रै पर्यटकलाई लोभ्याउने क्षेत्र भए पनि नगरपालिकाले त्यसको प्रचार–प्रसार गर्न नसकेको बताए। पर्यटकीय क्षेत्रको प्रचारमा ध्यान दिन सके पर्यटन व्यवसायबाट नगरपालिकाले आर्थिक स्थिति मजबुत बनाउन सक्ने उनको भनाइ छ।
भजनी नगरपालिकाका नगरप्रमुख शेरबहादुर चौधरीले भ्रमण वर्षलाई लक्षित गरी नगरपालिकाले कुनै योजना नबनाएको बताए। २०७५ लाई कैलाली भ्रमण वर्षका रूपमा मनाउँदा खर्च धेरै भएको तर त्यसको प्रतिफल प्राप्त नभएकाले भ्रमण वर्षको योजना नबनाएको उनकाे भनाइ छ।
“आवश्यकता परे कार्यपालिकाको बैठकबाट योजनासहित आवश्यक बजेट विनियोजन गर्न सकिन्छ,” नगरप्रमुख चौधरीले भने, “तर, यही अवस्थामा योजना बनाएर कुनै प्रतिफल हासिल गर्न सकिँदैन। कैलाली भ्रमण वर्षजस्तै उपलब्धि नहुने अवस्थामा योजनामात्रै बनाउनुको कुनै अर्थ छैन।”
भ्रमण वर्षका लागि टीकापुर नगरपालिकासँग पनि कुनै योजना छैन। नगरपालिकाका नगरप्रमुख तपेन्द्रबहादुर रावलले नगरपालिकाले हालसम्म कुनै योजना तय गरिनसकेको बताए। उनले कार्यपालिका सदस्य रमेश बिकको संयोजकत्वमा समिति गठन भएको बताउँदै योजना निर्माणका लागि काम भने सुरु भएको बताए।
नगरपालिकाकी सूचना अधिकृत रञ्जु आचार्यले नगरपालिका क्षेत्रमा पर्यटकका लागि आकर्षक घुम्ने गन्तव्य भए पनि नगरपालिकाले नीतिगत योजना नबनाएको बताइन्। “पर्यटन क्षेत्रको विकास र स्तरोन्नतिका लागि चालु आवको योजनामा नगरपालिकाले समेटेको छ,” अधिकृत आचार्यले भनिन्, “कार्यपालिका बैठकबाट भ्रमण वर्षका लागि योजना तय गरिनेछ। त्यहीअनुसार टीकापुर आउने पर्यटकको स्वागत सम्मानका लागि पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गरिनेछ।”
टीकापुर नगरपालिकामा टीकापुर पार्क, ऐतिहासिक विविधता बोकेको पदमप्रकाशेश्वर मन्दिर, कर्णाली, मोहना नदीमा पाइने विश्वकै लोपोन्मुख जलचर प्राणी डल्फिन, बिपी कुञ्ज पार्क, पर्शुराम कुण्ड लगायतका क्षेत्र छन्।
जानकी गाउँपालिकाले भ्रमण वर्ष २०२०लाई लक्षित गरी हालसम्म कुनै योजना तय गरेको छैन। गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले भ्रमण वर्ष लक्षित कुनै कार्यक्रम नभएको जानकारी दिए। उनले आवश्यकताका आधारमा योजना बनाइने भन्दै पर्यटकका लागि हालको अवस्थामा कृषि क्षेत्रभन्दा अन्य अवलोकनका लागि क्षेत्र नभएको बताए। उनले गाउँपालिकामा रहेको थारू सङ्ग्रहालय निर्माणाधीन अवस्थामा रहेको जातीय संग्रहालय पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु हुनसक्ने बताए।
जोशीपुर गाउँपालिकामा भ्रमण वर्षका लागि कुनै योजना तय भइसकेको छैन। गाउँपालिकाले आवश्यकताका आधारमा योजना बनाइने बताएको छ।
लम्कीचुहा नगरपालिकाले केही योजना बनाएको बताएको छ। नगरप्रमुख महादेव बजगाइँले भ्रमण वर्षको शुभारम्भमा कर्णाली चिसापानीमा भ्रमण वर्षको विधिवत्रूपमा उद्घाटन गरिएको बताउँदै नगरपालिकामा भएका पर्यटकीय क्षेत्रमा घुम्न आउने पर्यटकलाई घुम्नमा सहजताका लागि आवश्यक सहयोग गर्ने बताए। उनले पर्यटकीय क्षेत्रको प्रचार–प्रसारका लागि योजना तय गरिएको बताए।
रासस