काठमाडौं। संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपालमा सहरी फोहोरबाट आधुनिक उर्जा उत्पादनका लागि एक करोड अमेरिकी डलर अर्थात् करिब एक अर्ब १४ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण कर्जा दिने भएको छ ।
युएइको राजधानी अबुधावीमा जारी विश्व नवीकरणीय उर्जा संघ (इरिना) को वार्षिक साधारणसभाको अवसरमा युएईले अबुधावी फण्ड फर डेभलपमेन्ट अन्तर्गत सो रकम नेपाललाई ऋण दिने घोषणा गरेको हो । सो साधारणसभामा भाग लिन नेपालबाट उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अबुधावी पुगेका थिए ।
सो कर्जा रकम स्वीकार्दै मन्त्री पुनले उक्त रकमबाट विभिन्न ६९ वटा नगरपालिकामा फोहोरबाट ठूला बायोग्यास आयोजना सञ्चालनका साथै प्रांगारिक मल उत्पादन गरिने जानकारी दिए । सो सहयोगको लागि विभिन्न मुलुकबीच प्रतिस्पर्धा भएको थियो ।
उक्त फण्डबाट नेपालले ठूला बायोग्यास र नगरपालिकास्तरको फोहोरबाट उर्जा उत्पादन गर्ने परियोजनाहरुमा न्यून ब्याजदरमा कर्जा प्रवाह गर्ने सुविधा प्राप्त हुनेछ ।