मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिममा सरकारले बाँडेका एम्बुलेन्स सञ्चालन नभई थन्किँदै

सुदूरपश्चिममा सरकारले बाँडेका एम्बुलेन्स सञ्चालन नभई थन्किँदै

सुदूरपश्चिम प्रदेश सरकारले बाँडेका अधिकांश एम्बुलेन्स सञ्चालन नभई थन्किन थालेका छन्।
 |  बिहीबार, पुस २४, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २४, २०७६

डोटी– सुदूरपश्चिम प्रदेश सरकारले बाँडेका अधिकांश एम्बुलेन्स सञ्चालन नभई थन्किन थालेका छन्।

सामाजिक विकास मन्त्रालयले बाँडेका ती एम्बुलेन्स चालकले चलाउन नमान्दा थन्किन लागेका हुन्।

मन्त्रालयले गत कात्तिक २० गते सुदूरपश्चिमका विभिन्न अस्पतालमा बाँडेका १६ एम्बुलेन्स बाँडेको थियो। ‘अत्याधुनिक’ सुविधा भनिएका ती एम्बुलेन्समा दुर्घटनाको जोखिम भन्दै चालकले चलाउन छाडेका हुन्।

सञ्चालनमा रहेका एम्बुलेन्स पनि चालकले त्रासैत्रासमा चलाइरहेका छन्।

डोटीस्थित जिल्ला अस्पतालका एम्बुलेन्स चालक रतन धामीले सामाजिक विकास मन्त्रालयले दिएको एम्बुलेन्स थन्क्याएर पुरानै एम्बुलेन्स चलाइरहेको बताए। मन्त्रालयले दिएको एम्बुलेन्सको ब्रेक नलाग्ने, ब्रेक लगाउँदा झट्का दिने, ओरालोमा गाडी तात्तिएर अत्यन्त गन्हाउने, मोडमा घुमाउन गाह्रो हुने, अलिकति गति लिन खोजे पल्टिनेलगायतका समस्या भएको उनको भनाइ छ। उनले भने, “नयाँ एम्बुलेन्स चलाउनु त जोखिम मात्र छ, त्योभन्दा पुरानै ठीक छ, जोखिम मोलेर के यस्तो एम्बुलेन्स चलाउनु ?”

मन्त्रालयले दिएकोभन्दा पुरानै एम्बुलेन्स चलाउन सजिलो र सुरक्षित लाग्ने गरेको अर्का एम्बुलेन्स चालक भीम विष्टले बताए। उनले भने, “एम्बुलेन्स पुराना छन्, रङ रोगनले मात्रै नयाँ भएको हो, त्यसैले चलाउनै डर लाग्छ।”

मन्त्रालयले बाँडेका एम्बुलेन्स धामधम बिग्रिन थालेको चालक बताउँछन्। ग्राउन्ड क्लिरियन्स पनि अत्यन्त कम भएका कारण पहाडी कच्ची सडकमा ती एम्बुलेन्स चलाउन अत्यन्त कठिनाइ भइरहेको उनीहरूको दाबी छ। निःशुल्क प्रदान गरिएका एम्बुलेन्समा ७० वर्ष पार गरेका ज्येष्ठ नागरिकलाई निःशुल्क र सुत्केरीलाई ५० प्रतिशत शुल्क लिएर सेवा दिन मन्त्रालयले निर्देशन दिएको छ। मन्त्रालयले दिएका एम्बुलेन्स अति जोखिमपूर्ण र खर्चिला भएका कारण चलाउन सक्ने अवस्था नभएको जिल्ला अस्पतालले जनाएको छ।

कतिपय एम्बुलेन्सको इसीजी मनिटर पनि खसिसकेको दाबी चालकहरूको छ। एम्बुलेन्स दिए पनि सबै सुविधा र साम्रगी भने नदिइएको स्वास्थ्य चौकी र अस्पतालका कर्मचारीले गुनासो छ।

मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले कतिपय एम्बुलेन्समा ब्रेकको समस्या रहेको गुनासो आउने गरेको स्वीकार गरे। उनले भने, “एम्बुलेन्समा ब्रेकको समस्या भएको गुनासो आउने गरेको छ, हामीले मर्मतका लागि सिप्रदी ट्रेडर्समा पठाउने गरेका छौं।”

चिकित्सक, परिचालिका र सघन उपचार कक्षसहितको सुविधा हुने भनिएको एम्बुलेन्समा इसिजी सेवामात्र रहेको पनि चालक बताउँछन्।

रासस

प्रकाशित: Jan 09, 2020| 13:11 बिहीबार, पुस २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।