जनकपुरधाम- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आगामी माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनमा प्रदेश २ को चारवटै सिट आफूहरुको गठबन्धनले जित्ने दाबी गरेका छन्।
बस दुर्घटनामा निधन भएका महासमिति सदस्य ललनकुमार रायप्रति श्रद्धाञ्जली दिन महोत्तरी जाने क्रममा जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपसभापति निधिले यस्तो दाबी गरेका हुन्।
आम जनता वर्तमान सरकारको क्रियाकलापबाट आजित भइसकेको र जनताकै प्रतिनिधि राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदाता रहेकोले कांग्रेस र समाजवादी गठबन्धनका उम्मेदवारले चुनाव जित्ने निधिले बताए।
निर्वाचन आयोगले ल्याएको पछिल्लो कानुनअनुसार फ्लोरक्रसको सम्भावना नरहेको जिज्ञासामा निधिले भने, ‘हामी अन्तरघात गर्न कसैलाई आव्हान गरेका छैनौं तर चुनाव जित्नेमा हामी विश्वस्त छौं।’
राष्ट्रियसभा निर्वाचनलाई लक्षित गरी २६ पौषमा जनकपुर र २७ गते महोत्तरीमा प्रदेश २ का मतदातासहित दुबै दलको संयुक्त कार्यक्रम हुन लागेको उनले जानकारी दिए। पछिल्लो राष्ट्रियसभा निर्वाचनझैं समाजवादी पार्टी र राजपासँग गठबन्धन गर्ने तयारी रहेपनि यसो हुन नसकेको उनले बताए।
‘हाम्रै सामु उपेन्द्रजीले राजपाका संयोजक राजेन्द्रजीलाई फोन गरेर गठबन्धनको प्रस्ताव गर्नुभएको थियो, उहाँले हुन्छ पनि भन्नु भयो, तर पछि उहाँहरुको नेकपासँग सहकार्य भयो, नेकपासँग किन सहकार्य गर्नुभएको उहाँहरुलाई थाहा होला निधिले भने।
राष्ट्रियसभा निर्वाचनपछि समाजवादी पार्टीसँगको गठबन्धन जारी रहने नरहनेबारे तत्काल कुनै निक्र्यौल नलागे पनि संघीयता पक्षधरबीच सहकार्य हुनुपर्ने आफूहरुको धारणा रहेको निधिले बताए।
‘जनताले मुलुकमा कम्युनिस्ट शासन ल्याएका होइनन्, संघीयता ल्यएका हुन्, संघीयता जोगाउन समान विचारधारा बोक्ने पार्टीबीच सहकार्य हुनुपर्दछ,’ उनले भने।
उपसभापति निधिले जनकपुरमा पत्रकाहरुमाथि भएको हातपातसम्बन्धी घटनाको निन्दा गरेका छन्। पत्रकारमाथि आक्रमण लोकतन्त्रमाथिको आक्रमण हो भन्दै उपसभापति निधिले भने, ‘पत्रकारमाथि भएको आक्रमणको जति निन्दा गरे कम छ। पत्रकार र सञ्चार माध्यमउपर यसरी आक्रमण हुनथाले लोकतन्त्रनै धरापमा पर्ने निश्चित छ।’
उनले पार्टीभित्र असन्तुष्टि रहेपनि एकजुटतामा कुनै कमी नरहेको उल्लेख गरे। पार्टीभित्र देखिएको असन्तुष्टिहरुको चाँडै निक्र्यौल निस्कने उनको भनाइ थियो।