सुर्खेत- दाङ तुल्सीपुरका व्यापारी राजकुमार श्रेष्ठ हत्याकाण्डका दोषीलाई अदालतले जन्मकैदको फैसला सुनाएको छ।
जिल्ला अदालत सल्यानले श्रेष्ठ हत्याका मुख्य दोषी दाङ तुल्सीपुर नगरपालिका–६ स्याउलीबजारका टिकाराम घर्तीलाई जन्मकैदको फैसला गरेको छ। त्यस्तै उनकी छोरी पुजा घर्तीलाई पनि अदालतले १० वर्ष जेल सजाय सुनाएको छ।
जिल्ला अदालत सल्यानका श्रेस्तेदार दीपक पोखरेलले दिएको जानकारीअनुसार टिकारामलाई ज्यान मार्ने उद्योगमा जन्मकैद र अपहरण मुद्दामा १२ वर्ष कैदको फैसला भएको छ।
त्यस्तै घटनामा संलग्न अविरल महतारालाई ज्यान मार्ने उद्योगमा ५ र अपहरणमा ९ वर्ष, मानबहादुर भण्डारीलाई ज्यान मार्ने उद्योगमा ५ र अपहरणमा ८ वर्ष, मनबहादुर पुनलाई ज्यान मार्ने उद्योगमा ५ र अपहरणमा ८ वर्ष, नारायण वलीलाई ज्यान मार्ने उद्योगमा ५ र अपहरणमा ८ वर्ष, रुगत थापालाई ज्यान मार्ने उद्योगमा ५ र अपहरणमा ८ वर्ष, र वीरे घर्तीलाई अपहरण मुद्दामा ७ वर्ष कैद सजाय फैसला गरेको हो। आठै जनालाई अदालतले ५०/५० हजार जरिवाना तोकेको छ।
घटना भएको तीन वर्षपछि जिल्ला न्यायाधीश कुलप्रसाद केसीको इजलासले फैसला गर्दै श्रेष्ठको शरीर बन्धक र हत्या अरोपमा आठ जनालाई दोषी ठहर गरेको हो। अदालतको फैसलापछि आठैजना जेल चलान भएका छन्। भुपेन्द्र भण्डारी, खुमबहादुर केसी र जमा पुनले भने सफाई पाएका छन्।
त्यस्तै घटनामा संलग्न लोकेन्द्र राज शाही, जयप्रकाश डाँगी भनिने पूर्णबहादुर वली र नरबहादुर वली फरार छन्। व्यापारी श्रेष्ठको २०७४ जेठ २६ गते अपहरणपछि हत्या गरिएको थियो। अपहरण गरेको तीन दिनपछि श्रेष्ठको शब सल्यानको छत्रेश्वरी–४ झिम्पे भन्ज्याङमा फेला परेको थियो।
दाङको तुलसिपुरस्थित बुटवल बस्त्रालयका सञ्चालक एवम् तुलसीपुर उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष श्रेष्ठलाई टिकारामले छोरी पुष्पालाई लभ नाटक (हनी ट्रयाप) गर्न लगाएर २०७४ जेठ २६ गते अपहरणमा पारेका थिए।
पुष्पाले नाटक गर्दै सल्यान घुमाउन लगेकी थिइन्। टिकारामको योजनाअनुसार पुष्पाले श्रेष्ठलाई सल्यान पुर्याएकी थिइन्। श्रेष्ठ सल्यानको कपुरकोट नजिकैबाट अपहरणमा परेका थिए। त्यसको तीन दिनमा उनको हत्या भएको थियो।
उनीसँगै सोही समूहले दाङका अर्का व्यापारी रणबहादुर घर्तीकोसमेत हत्या गरेका थिए। श्रेष्ठलाई अपहरण गर्न ढुकेको समूहले झुक्किएर घर्ती सवार कारलाई रोकेका थिए। घर्तीले आफूलाई चिन्ने र घटनाको पोल खुल्ने डरले अपहरणकारीले श्रेष्ठसँगै अपहरणपछि हत्या गरेका थिए।
कामको शिलशिलमा रुकुमपश्चिमतर्फ जाँदै गरेका घर्ती श्रेष्ठसँगै अपहरणमा परेका थिए। अपहरणकारीले घर्तीलाई हत्या गर्ने पूर्व योजना नभए पनि श्रेष्ठ अपहरणको पोल खुल्ने डरले सँगै हत्या गरेका थिए।