जनकपुरधाम– प्रदेश २ सरकारले आगामी पाँच वर्षभित्र आर्थिक वृद्धि दर ११ प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । हाल ६.५३ प्रतिशत रहेको आर्थिक वृद्धि दर पाँच वर्षमा ११ प्रतिशत पुर्याउने लक्ष्य प्रदेश सरकारले लिएको हो ।
प्रदेश सरकारले बुधबार सार्वजनिक गरेको पहिलो पञ्चवर्षीय आवधिक योजनाको आधारपत्र–२०७६ मा आर्थिक वृद्धिदर ११ प्रतिशत पुर्याउने लक्ष्य लिइएको छ ।
मुख्यमन्त्री लालबाबु राउतले आधारपत्र सार्वजनिक गर्दै नीति तथा कार्यक्रममा समेटिएका योजनाहरु टेकेर यो लक्ष्य हासिल गरिने बताए । उनले आवधिक योजनाको आधारपत्रअनुसार योजनाहरु सरकारले ल्याउने जानकारीसमेत दिए । मुख्यमन्त्री राउतले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आवधिक योजनाको आधारपत्रअनुसार कार्यक्रमहरु सरकारले ल्याउने बताए ।
राउतले आगामी पाँच वर्षमा प्रदेशको आर्थिक वृद्धिदर ६.५३ बाट ११ प्रतिशत पुर्याउने लक्ष्य सरकारले लिएको बताउँदै २७.७ प्रतिशत रहेको गरिबी दर घटाएर २१ प्रतिशतमा झारिने उल्लेख गरे ।
यसैगरी प्रदेशको कूल ग्राहस्थ उत्पादन ४ सय ८८ अर्बबाट ६ सय अर्ब पुर्याउने सरकारको लक्ष्य रहेको नीति आयोगका उपाध्यक्ष डा.भोगेन्द्र झाले बताए । आगामी पाँच वर्षभित्र प्रदेशको प्रतिव्यक्ति आय एक हजार अमेरिकी डलर पुर्याउने लक्ष्य राखिएको उनले जानकारी दिए ।