काठमाडौं- नेपालको राहदानी (पासपोर्ट) फेरि पनि संसारकै खराब राहदानीको सूचीमा सूचिकृत भएको छ।
हेन्ले पासपोर्ट इन्डेक्सले सार्वजनिक गरेको सन् २०२० शक्तिशाली पासपोर्टको सूचीमा नेपाल निकै कमजोर अवस्थामा देखिएको छ।
राहदानी बाहकलाई देशले दिने सुविधा, भिषा बिनै प्रवेश, अनअराईभल भिषा, राहदानीको विश्वनीयता लगायतका आधारमा राहदानीलाई बर्गीकरण गरिएको छ। सन् २०२० को सूचीमा जापानको राहदानी संसारकै सबैभन्दा शक्तिशाली देखिएको छ।
जापानको राहदानी बाहकले विश्वका १९१ देश/गन्तव्यमा विना भिषा वा अन अराइभल भिषाको सुविधा प्राप्त गर्छन्।
त्यस्तै सिंगापुर दोस्रो नम्बरमा छ। सिंगापरको राहदानी बाहकले यस्तो सुविधा १९० देश/गन्तव्यमा प्राप्त गर्छन्।
त्यस्तै दक्षिण कोरिया र जर्मनी (१८९) तेस्रो नम्बरमा छन् भने चौथो नम्बरमा इटली र फिनल्याण्ड (१८८) छन्।
पाँचौ नम्बरमा स्पेन, लक्जेम्बर्ग र डेनमार्क (१८७) छन्। छेटौमा स्वीडेन र फ्रान्स (१८६), सातौंमा स्वीट्जरल्याण्ड, पोर्चुगल, नेदरल्याण्डस्, आयरल्याण्ड र अस्ट्रिय (१६५) छन्।
अमेरिका र बेलायत आठौं स्थानमा रहेका छन्।
संसारका सबैभन्दा खराब राहदानीमध्ये नेपाललगायतका केही एसियाली र अफ्रिकी देश छन्। अफगानिस्तान सबैभन्दा खराबको सूचीमा छ।
उसले विश्वका २६ देश/गन्तव्यमा विना भिषा वा अनअराईभल भिषाको सुविधा प्राप्त गर्छ। त्यसपछि, इराक, सिरिया, सोमालिया र पाकिस्तान, यमन तथा लिबिया लगातार १०६ स्थानबाट १०२ स्थानमा छन्।
नेपाल र प्यालेस्टाइन यो सूचीको १०१ नम्बरमा छन्। जुन देशका राहदानी बाहकले ३८ देश/गन्तव्यमा यस्तो सुविधा प्राप्त गर्छन्।
नेपालभन्दा राम्रो अवस्थामा बरु उत्तर कोरिया रहेको छ। एक सयौँ स्थानमा रहेको उत्तर कोरिया र सुडानका राहदानी बाहकले ३९ देश/गन्तव्यमा यस्तो सुविधा प्राप्त गर्छन्।
हेन्लेले यो रिर्पोट अन्तर्राष्ट्रिय एयर ट्रान्सपोर्ट अथोरिटी आईएटीएबाट प्राप्त तथ्यांकका आधारमा तयार गरेको हो। यसमा १९९ देशको राहदानीलाई २२७ ट्राभल गन्तव्य समावेश गरिएको थियो।