काठमाडौं। सेयर बजार परिसूचक (नेप्से) केही दिनयता उकालो लागिरहेको छ। आइतबारदेखि उकालो लागेको बजार आज (मंगलबार) पनि १७.०८ अंकले बढेर १२१६.९२ अंकमा अडिएको छ। हिजोको तुलनामा कारोबार रकममा पनि वृद्धि भएको छ । यसदिन १७० कम्पनीको एक अर्ब १० करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।
होटल र उत्पादनमूलक क्षेत्रको समूहगत परिसूचक न्यून अंकले घटेको छ भने अन्य सम्पूर्ण समूहगत परिसूचक बढेको छ। मंगलबार बैंकिङ १९.०३, ट्रेडिङ १.०१, विकास बैंक २६.१८, जलविद्युत १७.५५, फाइनान्स ५.०२, निर्जिवन बीमा ८६.५६, माइक्रोफाइनान्स ३२.९, जीवन बीमा १.०४, म्याचुअल फन्ड ०.०१ र अन्य समूह १.५२ अंकले उकालो लागेको छ ।
मंगलबार माछापुच्छ्रे बैंकको उच्च कारोबार भएको छ। बैंकको १९ करोड ४९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ। यसदिन सबैभन्दा बढी कारोबार भएका कम्पनीमा वाणिज्य बैंकहरु रहेका छन्। यसदिन एनआईसी एशिया र प्रभु बैंकको कारोबार रकम क्रमशः ६ करोड ४८ लाख र चार करोड २० लाखको भएको छ ।
लामो समयदेखि रिक्त रहेको नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भिष्मराज ढुंगाना नियुक्त भएका कारण लगानीकर्ताको मनोबल बढेको बताइएको छ।