मंगलबार, भदौ २, २०८३

नजिकबाट हिमाल हेर्न मर्दी ट्रेक

हातले समाउन सकिएला झैँ लाग्ने गरी आँखै अगाडि ठडिएका हिमशृङ्खला ।
 |  मंगलबार, पुस २२, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २२, २०७६

हातले समाउन सकिएला झैँ लाग्ने गरी आँखै अगाडि ठडिएका हिमशृङ्खला । हिउँले छपक्कै छोपेका सेता पहाड, हरिया वनजङ्गल, सुन्दर डाँडाकाँडा र बस्तीहरु हेर्नुको छुट्टै आनन्द । यस्तो अवसर मर्दी हिमाल पदयात्रा गर्नेलाई मात्र प्राप्त हुन्छ ।
एउटै यात्राबाट कुमारी माछापुच्छेसहित मर्दी, अन्नपूर्ण साउथ, हिमचुली, अन्नपूर्ण प्रथम, गङ्गापूर्ण, गन्धर्व चुलीलगायत आधा दर्जनभन्दा बढी हिमाल नियाल्ने अवसर मिल्ने भएकाले यस पदयात्रामार्गमा बाह्य तथा आन्तरिक पर्यटकको आकर्षण बढेको छ ।

विभिन्न सङ्घसंस्था तथा समूहमा मिलेर पदयात्रा गर्नेको सङ्ख्यासमेत अहिले यहाँ उत्तिकै छ । दुई महिनाअघि यहीँ सम्पन्न भएको अल्ट्रा म्याराथनको विश्वकपले समेत यसलाई अन्तरराष्ट्रिय क्षेत्रमा चिनाएको छ । सडक यातायातको अहिलेसम्म पहुँच पुग्न नसकेकाले समेत आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

हालसम्म आरोहण खुला नभएको कुमारी माछापुच्छेसँगैको मर्र्दी हिमालको आधार शिविरसम्म पुग्न सकिने भएकाले यसलाई मर्दी हिमाल पदयात्रा मार्गका रुपमा विकास गरिएको छ । पोखराबाट २२ किमी दूरीमा रहेको माछापुच्छे गाउँपालिकाको घलेल हुँदै कालीमाटी तथा सिदिङसम्म जिपयात्रामार्फत पुग्न सकिन्छ । त्यहाँबाट जङ्गलको बाटो हुँदै उकालो चढेर दुई हजार ९७० मिटर उचाइमा अवस्थित लो क्याम्प पुगिन्छ ।

माछापुच्छेकै धम्पुस तथा अन्नपूर्ण गाउँपालिकाको काँढेबाट समेत पोथना, अष्ट्रेलियन क्याम्प, प्रितम देउराली, फरेष्ट क्याम्प हुँदै लो क्याम्पसम्म पर्यटक पुग्दछन् । लो क्याम्पबाट बादलडाँडा, हाइक्याम्प, ‘भ्यु प्वाइन्ट’ हुँदै चार हजार ५०० मिटर उचाइको मर्दी हिमाल आधार शिविर पुगिन्छ ।

भ्यू प्वाइन्टबाट लस्करै ठडिएका आधा दर्जनभन्दा बढी हिमालसहित पोखरा उपत्यकालगायत क्षेत्रको दृश्यावलोकन गर्न सकिन्छ । अधिकांश पर्यटक मर्दी हिमाल बेसक्याम्प पुगेर घलेल, क्यानोनिङ हुँदै चिया गाउँका रुपमा परिचित ल्वाङ हुँदै पोखरा फर्कने गर्दछन् ।

पाँच–छ वर्षअघि यस मार्ग गुमनाम जस्तै थियो । पर्यटक देख्नसमेत मुस्किल पर्ने गरेकामा दुई–तीन वर्षयता आएर मुख्य याममा व्यवसायीलाई पर्यटक राख्न भ्याइ नभ्याई हुने गर्दछ भने अन्य समयमा समेत पर्यटकको आउजाउ बाक्लो छ । त्यसमा विदेशीसँगै नेपालीको सङ्ख्या पनि उत्तिकै छ । पर्यटक बढेसँगै पहिल्यै बुकिङ गरेर आउनेले बाहेक अन्यले मुख्य याममा पर्याप्त पूर्वाधार अभावमा दुःखसमेत पाउने गरेका छन् ।

पदयात्रामार्गको माछापुच्छे गाउँपालिका–८ कालीमाटीमा पाँच वर्षअघिदेखि मर्दी हिमाल इको भिलेज सञ्चालन गर्दै पदयात्रा व्यवस्थापन समितिमा आबद्ध शिवप्रसाद भण्डारी दुई वर्षयता मुख्य याममा पर्यटकको भीड थामिनसक्ने हुने बताउँछन् ।

पदयात्रामार्गका अन्य स्थानमा समेत नयाँ नयाँ होटल तथा रेष्टुराँ थपिनेक्रममा रहेकाले पर्यटकलाई सहज हुने विश्वास लिइएको छ । छोटो दूरीको पदयात्रा भएकाले समेत किशोरदेखि वृद्धवृद्धासम्मलाई यसले आकर्षित गरेको छ । छोटो अवधिमा नै पूरा गर्न सकिने भएकाले व्यस्त दैनिकी भएकालाई समेत यसले लोभ्याउने गरेको छ । कतिपय पर्यटक जिपमा कालीमाटीसम्म पुगेर हिमशृङ्खलाको दृश्यावलोकन गरी त्यहीँबाट फर्कने गर्दछन् ।

चक्रीय अन्नपूर्ण, घान्द्रुक, घोरेपानीलगायत चर्चित पदयात्रा मार्गमा अहिले सडक पुगेर पदयात्रीलाई असुविधा पुगिरहेको अवस्थामा मर्दी हिमाललाई टे«किङ रुटकै रुपमा विकास गरिनुपर्ने माग पर्यटन व्यवसायीको छ ।
रासस

प्रकाशित: Jan 07, 2020| 08:00 मंगलबार, पुस २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।