एजेन्सी– इरानले अमेरिकी सेनालाई मंगलबार आतंककारी घोषणा गरेको छ। आफ्ना सैन्य जनरल कासिम सुलेमानी हत्याको प्रतिक्रियास्वरुप इरानले अमेरिकी फौनलाई आतंककारी घोषणा गरेको समाचार संस्था एएफपीले जनाएको छ।
साथै इरानको संसदले अमेरिकी रक्षा मन्त्रालयलाई पनि आतंककारी संगठनकाे संज्ञा दिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा गएको बिहीबार राति इराकको बगदादमा सुमानी मारिएका थिए। अमेरिकाले पिन इरानको रिभोलुशनरी गार्डस र त्यसको विशेष इकाई कुड्स सेनालाई आतंकवादी संगठन घोषणा गरिसकेको छ। अमेरिकी राष्ट्रपति ट्रम्पको आदेशमा मारिएका सुलेमानी सोही सेनाका प्रमुख हुन्।
यसैबीच, इराकबाट अमेरिकी सेना फिर्ता हुँदैछन् भन्ने कुरालाई अमेरिकी रक्षामन्त्रीले अस्वीकार गरेका छन्। एक अमेरिकी सैन्य जनरलले इराकबाट सेना फिर्ता हुनुपर्ने सुझाव दिँदै लेखेको पत्रपश्चात् पेन्टागनका प्रमुख मार्क एस्परले अहिले फौज फिर्ता गर्ने बेला नभएको स्पष्ट पारेका हुन्।