काठमाडौं- लोकसेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी नायब सुब्बा स्तरमा एक हजार पदमा आवेदन खोल्ने भएको छ ।
आयोगले नायब सुब्बातर्फ प्राविधिक र अप्राविधिक गरी भोलि (बुधबार) एक हजार पदमा नयाँ भर्ना आह्वान गर्ने तयारी गरेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार नायब सुब्बातर्फ भर्ना खुला गर्ने निर्णय गरेसँगै लोकसेवाले नायब सुब्बाको विज्ञापन गर्ने तयारी गरेको थियो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार संघअन्तर्गत देशभरका विभिन्न कार्यालयमा गरी नायब सुब्बा स्तरमा एक हजार पद रिक्त छ । सोही रिक्त पदमा सम्बन्धित कार्यालयको मागका आधारमा लोकसेवा आयोगले पदपूर्ति गर्न लागेको हो ।
सामान्य प्रशासन मन्त्रालयका अनुसार बुधबार लोकसेवा आयोगद्वारा माग गर्न लागिएको पदमध्ये प्रशासनतर्फ ४ सय, लेखातर्फ १ सय बढी र राजस्वतर्फ झन्डै ५० छ ।
यसैगरी कृषि वनलगायत अप्राविधिक सेवातर्फ झन्डै ५ सय पदमा विज्ञापन आह्वान हुन सक्ने लोकसेवा आयोगले जनाएको छ ।
यसअघि संघीय मामिला मन्त्रालयले कर्मचारी समायोजन र पदस्थापनको कारण देखाएर नायब सुब्बामा तत्काल भर्ना प्रक्रिया रोक्ने निर्णय गरेको थियो तर कर्मचारी अभावमा संघीय कार्यालयको काम प्रभावित हुने भएपछि मन्त्रालयले आफ्नो निर्णय सच्याउँदै भर्ना खुला गर्ने निर्णय गरेको थियो ।
हाल विभिन्न जिल्लामा मालपोत र प्रशासन कार्यालयमा ठूलो संख्यामा सुब्बा पद रिक्त रहँदा काम प्रभावित हुँदै आएको छ ।