काठमाडौं- अमेरिका र इरानबीचको द्वन्द्वले मध्यपूर्वी देशहरुमा त्रास बढेसँगै इराकमा रहेका विदेशी कामदारहरुलाई फर्काउन सुरु गरिएको छ।
जसमा केही नेपाली कामदारहरु पनि परेका छन्। अमेरिकाले इराकको बगदाद विमानस्थलमा आक्रमण गरेपछि इराकमा द्वन्द्वको त्रास झनै बढेको हो।
अमेरिकी आक्रमणमा इरानी उच्च सैन्य कमाण्डर जर्नेल कासिम सुलेमानी मारिएका थिए।
उनको मृत्युसँगै इरान र अमेरिकाबीच भनाभनको अवस्था जारी छ। कुनै पनि मुलुकले आक्रमण गर्न सक्ने आशंकाका बीच त्यहाँ कार्यरत विदेशी कामदारहरुलाई स्वदेश फर्काउन थालिएको हो।
यद्यपि अमेरिकी दूतावासले यसबारे केही भनेको छैन। अमेरिकाले इराकमा रहेको आफ्ना सर्वसाधारण सबै नागरिकलाई इराक छोड्न यसअघि नै सूचित गरिसकेको छ।
इराकमा रहेको अमेरिकी लगायत केही अन्य देशका दूतावासबाट सोमबारसम्म ४० भन्दा बढी विदेशी कामदारलाई पठाइएको छ।
त्यहाँ रहेका विदेशी दूतावासमा ठूलो संख्यामा नेपालीहरु पनि रहेकाले कति नेपालीहरुलाई फर्काइयो भन्नेबारे पुष्टि भएको छैन।
इराकका विभिन्न ठाउँमा हाल १५ हजार भन्दा बढी नेपाली कार्यरत छन्।
यसअघि राजधानीका धेरैजसो होटेल र दूतावासमा नेपालीहरु सुरक्षा गार्डका रुपमा काम गर्ने गरेका थिए। पछिल्लो समय ती नेपालीहरु विभिन्न सहरमा छरिएर काम गर्न थालेका छन्।
इराकमा नेपाली दूतावास नभएकाले त्यहाँको बारे कुवेतस्थित नेपाली दूतावासले इराकबारे समन्वय गर्ने गरेको छ।
यता परराष्ट्र मन्त्रालयले भने यसबारे केही जानकारी गराएको छैन।