दार्चुला - दार्चुलाको मार्मा गाउँपालिका–६ का वडाध्यक्ष महादेवसिंह डडाल पदमुक्त भएका छन्। निर्वाचन आयोग नेपालले सोमबार सूचना जारी गर्दै डडाल वडाध्यक्ष पदबाट मुक्त भएका जनाएको छ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पार्टीबाट वडाध्यक्ष पदमा विजयी भएका डडालले पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका थिए।
नेपाली कांग्रेस जिल्ला कार्य समिति दार्चुलाको २०७६ भदौ १८ गते बसेको बैठकले वडाध्यक्ष डडाललाई पार्टीबाट निष्काशन गर्ने तथा अध्यक्ष पदबाट पदमुक्त गर्न निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको थियो।
कांग्रेसले असोज १५ गते वडाध्यक्ष पदबाट मुक्त गर्न जिल्ला निर्वाचन कार्यालय दार्चुलामार्फत निर्वाचन आयोगलाई निवेदन दिएको थियो। नेपाली कांग्रेस त्याग गरेका डडाल पदमुक्त भएसंगै उक्त पद स्वतः रिक्त हुन गएको निर्वाचन आयोगले जारी गरेको सूचनामा उल्लेख छ।