मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • न्यू बुटवल र पूर्वी चितवन सबस्टेसनको निर्माण अन्तिम चरणमा

न्यू बुटवल र पूर्वी चितवन सबस्टेसनको निर्माण अन्तिम चरणमा

नवलपरासीको सुनवलमा २२०–१३२ केभी न्यू बुटवल र चितवनको भण्डारामा पूर्वी चितवन १३२–३३–११ केभी सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ ।
 |  सोमबार, पुस २१, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस २१, २०७६

काठमाडौं–नवलपरासीको सुनवलमा २२०–१३२ केभी न्यू बुटवल र चितवनको भण्डारामा पूर्वी चितवन १३२–३३–११ केभी सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ ।

दुवै सबस्टेसनको निर्माण आगामी चैतभित्र सम्पन्न गरी संचालन (चार्ज) गर्ने लक्ष्यका साथ काम भइरहेको छ विद्युत् प्राधिकरणले जनाएको छ।

दुवै सबस्टेसन आयोजनाको निर्माण प्रगतिको स्थलगत निरीक्षणमा पुगेका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले धैरै समय लाग्ने अधिकांश सिभिल संरचनाको निर्माण सकिएकाले कुनै अवरोध नआएमा तोकिएकै समयमा काम सकिने देखिएको बताए ।

आयोजना व्यवस्थापन र ठेकेदार कम्पनीका प्रतिनिधिहरुसँग निर्माण प्रगति, बेहोरिएका समस्या लगायतका बारेमा जानकारी लिँदै कार्यकारी निर्देशक घिसिङले तोकिएकै समयमा काम सक्न निर्देशन दिए ।

‘‘सबस्टेसनको जग हालिएको छ, अधिकांश उपकरणहरु आयोजनास्थलमा आइसकेका छन् भने केही आउनेक्रममा छन् । अब उपकरणहरु जडानको काम मात्रै बाँकी देखिन्छ, बाँकी रहेको सिभिल संरचनाको काम सक्न र उपकरण जडानको कामलाई तिब्रता दिनुहोस्,’ उनले निर्देशन दिँदै भने ।

भारतीय ठेकेदार कम्पनी टाटा प्रोजेक्ट लिमिटेडले चैतभित्रमा सबस्टेसन चार्ज गर्ने प्रतिबद्धता जनाएको छ। निर्माणमा अहिले एक सय जनाभन्दा बढी श्रमिक आयोजनास्थलमा खटिएका छन् ।

कालीगण्डकी नदी बेसिनमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् कालीगण्डकी किरडोर २२० कभी प्रसारण लाइन हुँदै न्यू बुटवल सबस्टेसनमा ल्याई राष्ट्रिय प्रणालीमा प्रवाह गरिने छ ।

नेपाल र भारतबीचको विद्युत् व्यापारका लागि लागि दोस्रो क्रसबोर्डर प्रसारण लाइन पनि न्यू बुटवल सबस्टेसनबाट सुरु हुने छ । नेपाल र भारतबीच विद्युत् व्यापारका लागि न्यू बुटवल–गोरखपुर ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण लगानी तथा कार्यान्वयन प्रारुपमा सहमति जुटिसकेको छ । करिब २० बिगाहा जमिनमा निर्माण हुने न्यू बुटवल धनुषाको ढल्केबर सबस्टेसनपछिको दोस्रो ठूलो विद्युत् हब बन्ने छ ।

अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत् दिने अनुदानबाट न्यू बुटवलमा ४०० केभीको अर्को सबस्टेसन पनि बन्ने छ । एमसीसीले तनहुँको दमौलीबाट न्यू बुटवलसम्म ४०० केभी प्रसारण लाइन पनि निर्माण गर्ने छ ।

प्रकाशित: Jan 06, 2020| 06:46 सोमबार, पुस २१, २०७६
प्रतिक्रिया दिनुहोस्